नेपाल र चीनका राष्ट्रपतिबीच फोनवार्ता : खोप खरिदमा सहयोग गरिदिन आग्रह

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिनसँग फोनवार्ता गर्दै नेपाललाई खोप खरिदमा सहजीकरण गरिदिनका लागि आग्रह गरेकी छन् ।

भण्डारीले नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि चीन सरकारले सहयोग गरेकोमा धन्यवाद दिँदै अहिले नेपाललाई थप खोप आवश्यक रहेकाले खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी हुन् ।

भण्डारी र सीबीच बुधबार दिउँसो करीब ४० मिनेट कुरा भएको राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए । ‘अहिले नेपाली जनताको जीवन बनाउन आवश्यक छ । अहिलेको अवस्थामा कोभिड–१९ खोपको नेपाललाई आवश्यक छ । नेपाल खोप खरिद गर्न चाहन्छ । खोप खरिद गर्नको लागि सहजीकरण गरिदिन हुन अनुरोध गर्दछु,’ राष्ट्रपति भण्डारीको संवादलाई उदृत गर्दै सञ्चार विज्ञ ढकालले भने ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको एक असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको ढकालले जानकारी दिएका छन् । चीनले नेपाललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि हालसम्म स्वास्थ्य सामग्रीसहित ८ लाख सिनोफार्मको भेरोसेल खोप अनुदान सहयोग गरेको छ । राष्ट्रपति भण्डारीले बुधबारै भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पनि पत्र पठाएर नेपाललाई खोप सहयोग गर्नको लागि अनुरोध गरेकी थिइन् ।

यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सङ्क्रमणको सम्बन्धमा चीन सरकारले दिएको सहयोगका निम्ति आभार व्यक्त गरेका छन् । बुधवार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले नेपाल र चीनका राजनीतिक दलसँग महामारीका बेला संयुक्त रूपमा अघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चीन सरकारले नेपालका लागि स्वास्थ्य सामग्री, खोप र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार तथा धन्यवाद व्यक्त गरेका हुन् ।

कोभिडविरुद्धको खोपमा चीनले प्राप्त गरेको सफलताको पनि उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका छन् । उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको बताए ।

 
 
  
 

You may also like