विहेको दुई दिनपछि बेहुला–बेहुलीलाई कोरोना संक्रमण

संखुवासभा । संखुवासभाको मादीनगरपालिका–३, लेलेका बेहुला–बेहुलीमा कोरोना संक्रमण भएको छ । वैशाख २३ गते विवाह गरेका २५ वर्षीय बेहुला र २० वर्षीया बेहुलीमा संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर लिङ्थेपले जानकारी गराए ।

विवाह भएको दुई दिनपछि संक्रमण देखिएको मादीको स्वास्थ्य शाखाले जनाएको छ । ज्वरो र रुघाखोकी आएपछि शनिबार परीक्षण गराउँदा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पढाइको सिलसिलामा काठमाडौं बस्दै आएका उनीहरु १५ दिनअघि मादी आएका थिए । विवाह र पुराण एकै घरमा भएको थियो । विवाहमा तीन सयभन्दा बढी सहभागी भएकाले अन्य सहभागीलाई सजक रहन मादी नगरपालिकाले अनुरोध गरेको छ ।

गाउँमा नै संक्रमण फैलन सक्ने भन्दै गाउँ नै शिल गरी स्वाब संकलनका लागि स्थास्थ्यकर्मी टोली परिचालन गरिएको नगर प्रमुख लिङ्थेपले बताएका छन् । संक्रमित देखिएका दम्पतीलाई चैनपुरमा राखिएको छ । जिल्लामा हाल सय बढी कोरोना संक्रमति रहेका छन् ।

यसअघि पनि विवाह भोजभतेरमा सहभागीमा संक्रमण देखिएको थियो । यसले समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने देखाएको छ । संक्रण बढ्दो रुपमा भए पनि विवाह, पुराण, पुजालगायतका धार्मिक कार्यमा भीडभाड निकै बाक्लो देखिने गरेको छ । भीडभाड भए पनि स्थास्थ्य मापदण्ड नअपनाउँदा जिल्लामा संक्रण बढेको हो । संक्रण बढेसँगै जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबार रातिदेखि जेठ २ गते सम्मका लागि निशेधाज्ञा जारी गरेको छ ।

 
 
  
 

You may also like