प्रधानमन्त्रीलाई भेटेर महन्थ र राजेन्द्रले भने, ‘विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन् ।

आज (आइतबार) विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि बालुवाटार पुगेका उनीहरुले आफ्ना माग पुरा नभएको भन्दै मत नदिई तटस्थ बस्ने बताएका छन् ।

‘हाम्रो केही काम सम्बोधन गर्नुभएको छ । हामी तपाईंको विपक्षमा पनि उभिदैनौँ । तर हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौं,’ महतोले भने । आफूहरु तटस्थ बस्ने उनको भनाइ छ ।

जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले यतिबेला पार्टी एकता कायम राख्न तटस्थ बस्ने नीति अख्तियार गर्नुपर्ने पक्षमा उभिएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा उभिएका बेला उनीहरुले बीचको बाटोमा जानुपर्ने बताइरहेका छन् । आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर पनि उनीहरुले विश्वासको मतको पक्षमा विपक्षीमा आफू नउभिने बताएका थिए ।

प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएसँगै राजनीतिक दौडधुप बढेको छ । यसअघि ठाकुर– महतोले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा पनि आफूहरु तटस्थ बस्न सक्ने जानकारी गराएका थिए ।

 
 
  
 

You may also like