बुटवल कोभिड अस्पतालमा थप दुई संक्रमितको मृत्यु, अक्सिजन अभावले विरामी भर्ना रोकियो

बुटवल। कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको बुटवलमा थप दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–१ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार दुबै जना बैशाख २२ गते अस्पतालको आइसियुमा भर्ना भएका थिए । उनीहरुमध्ये ४८ वर्षीय पुरुषको गए राति ११ बजे र ३० वर्षीया महिलाको शनिवार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको प्रवक्ता गौतमले बताए ।

योेसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५५ पुगेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार दिउँसो ४ः३० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार रुपन्देहीमा २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । शुक्रबार रुपन्देहीमा ७ सय ८२ जना नयाँ संक्रमित थपिएका थिए । जिल्लामा ६ हजार सक्रिय संक्रमित पुगेका छन् ।

कोभिड अस्पतालमा अक्सिजन अभाव
बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।

यी दुई अस्पतालमा अहिले ११४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीबाहेक प्रादेशिक अस्पतालमा अन्य रोगका गम्भीर बिरामी पनि छन् । अक्सिजनको अभाव हुँदा ती बिरामी जोखिममा परेका हुन् । भर्ना भएका बिरामीका लागि अहिले दैनिक ६ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ । तर अस्पतालमा पुग नपुग ३ सय सिलिन्डर अक्सिजन आपूर्ति भइरहेको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले अक्सिजन स्टक सकिन लागेपछि त्यसको व्यवस्थापनका लागि पहल भइरहेको बताए । ‘बुधबार रातिदेखि नै हामी निकै तनावमा छौं । हामीसँग भएको अक्सिजनको मौज्दातले दिँउसोसम्मलाई थेग्ला । स्थिति नाजुक छ तत्कालै जसरी पनि अक्सिजनको व्यवस्थापन गर्नु पर्नेछ,’ डा. पाठकले भने ।

अक्सिजन व्यवस्थापनका लागि डा. पाठकसहितको टिमले रातभर नसुतेर सरकार, सम्बन्धित निकाय, उद्योग, सप्लायर्स र संघसंस्थासँग हारगुहार गरे पनि भरपर्दो व्यवथापन हुन नसकेको प्रादेशिक असपतालका स्टोर प्रमुख रुपलाल पन्थीले बताए । दैनिक ६ सय सिलिन्डर अक्सिजनको माग छ तर अपूर्ति जम्मा ३ सयको हाराहारीमा हुँदा अक्सिजनको चरम अभाव भएको स्टोर किपर पन्थीले बताए ।

केही दिन अघिदेखि नै प्रदेश र स्थानीय सरकारसमक्ष अक्सिजन आपूर्ति सहज बनाउन माग गरिए पनि सुनुवाइ नभएको उनले जानकारी दिए । यहाँका मन्त्री, मुख्यमन्त्री, नगरपालिकाका मेयर सबैलाई जानकारी छ । दुई–तीन दिनअघि नै अक्सिजन आपूर्ति सहज बनाउन प्रदेश र स्थानीय सरकारसँग माग गरेका हौं तर खै त सुनुवाइ नै भएको छैन,’ पन्थीले भने ।

 
 
  
 

You may also like