महोत्तरी । कोरोना भाइरस संक्रमणबाट गत बुधबार मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरीको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरी त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरी नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।
गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०–७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमणबाट दुईको मृत्यु
जिल्लाको जलेश्वर नगरपालिकामा गए राति कोरोना सङ्क्रमणबाट दुईको मृत्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै जलेश्वर नगरपालिका–२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृत्यु भएको छ । यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।