कोरोना संक्रमितले भरिएको भेरी अस्पतालमा ८० स्वास्थ्यकर्मी पठाउने निर्णय

काठमाडौं । शैंया अभावसँगै जनशक्ति अभावमा कोरोना संक्रमित उपचारबाटै बञ्चित हुने अवस्था आएपछि बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाइने भएको छ । स्वास्थ्य मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

आइतबार मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले स्थलगत निरीक्षण गरेर बाँकेको अवस्थाबारे मन्त्रालयमा जानकारी गराएका थिए । त्यसपछि थप स्वास्थ्यकर्मी पठाउने निर्णय भएको उनले जानकारी दिए । उनका अनुसार कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बनाउन सामग्री दिने निर्णय भएको छ । हाल नेपालगञ्ज मेडिकल कलेजमा ६० वटा अक्सिजन सपोर्टसहितका बेड छन् ।
संक्रमितले बेड पाएनन्, स्वास्थ्यकर्मीको अभाव
पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ । जसका कारण संक्रमितहरु उपचारबाट बञ्चित भएका छन् । गत वर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयावह भइसकेको छ ।

दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन् । उनी भेरी अस्पताल आसपासमा उपचारको लागि दौडधुप गरिरहेको भेटिन्छन् । आफूसँगै संक्रमित श्रीमतीको उपचारका लागि उनको दौडधुप बढेको हो ।

अस्पताल बसाई उनका लागि निकै कष्टकर बनेको छ । केही दिन अघिमात्रै उनले कोरोना संक्रमणकै कारण छोरी गुमाएका छन् । दाङमा स्टाफ नर्सको रुपमा कार्यरत रहँदा उनकी छोरी संक्रमित भएकी थिइन् । उपचारकै क्रममा उनको मृत्यु भयो । यस्तो पीडाबीच अस्पतालमा राम्रो उपचार गराउन नसकेको उनको गुनासो छ ।

यो त प्रतिनिधि घटना मात्रै हो। भेरी अस्पतालमा यसैगरी कोरोना संक्रमित भई छट्पटाइ रहेकाहरु प्रशस्त भेट्न सकिन्छ । भेरी अस्पतालको कोरोना बेड भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको हो ।

कोभिडको लागि छुट्याइएको १४२ बेड भरिए पनि संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी छ । कोभिडका विरामीलाई भर्ना गर्न नसकेर मुकदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सकहरुले बताएका छन् । आइसोलेशनको अभावका कारण संक्रमितहरु उपचार पाउनबाट बञ्चित छन् । अस्पतालमा जटिल अवस्थाका विरामीहरु थपिने क्रम बढ्दो छ । भर्ना भएका विरामीहरु डिस्चार्ज भएपछि मात्रै अर्को संक्रमितले बेड पाउने अवस्था रहेको भेरी अस्पतालका फिजिसियन डा. संकेत रिसालले बताए ।

जिल्लाभर एक हजार २६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् । भेरी अस्पतालले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने बताइसकेको छ । दैनिक एक सयभन्दा बढी कोरोनाका विरामीहरु थपिँदै गएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like