- शिवलाल भुसाल
आखिर यो मन त हो, कति साह्रै घुम्न सकेको । अहिले एक खालको बिचार पलाउँछ, त्यो विचार हुर्कन नपाउँदै अर्को विचारले जरा टेक्न थाल्दछ । कति अस्थिर बनाउँछ पल पलमा मानिसलाई, कति असर गर्दछ यो अस्थिरताले त्यो स्वयम् अस्थिर मन भएकोलाई पनि पत्तो हुँदैन । यसैले त होला, बर्षो देखिको सम्बन्ध छिनभरमै समाप्त हुने भने छिनभरमै त्यस्ता खालका सम्बन्ध पुरानै अवस्थामा फर्किने गर्दछ । तर जे होस् यो विचित्र किसिमको हुन्छ र मनलाई नियन्त्रणमा राख्न नसक्नेको जिवन झन अचम्मको हुन्छ । कसैसंग नजिकैको साइनो गास्छौ त कसैसंग टाढा भइदिन्छौँ । जिन्दगीमा कहिल्यै नदेखेका संग एकाएक नजिक भइदिन्छौँ त सधै संगै भएकासंग टाढा हुन अनेक जुक्ति निकाल्छौँ । यो मन त हो, जसले कसैलाई देख्दा बित्तिकै राम्रो रहिछ भन्ने र नदेख्दै वा बोलचाल नहुँदै खराब रहिछ भन्दै बिश्लेषण गर्ने । सम्झिनु पर्नेलाई सम्झिन नसक्ने र बिर्सनु पर्नेलाई बिर्सन नसक्ने यो बहकिने मन, कति पापी !
अचम्म त यहानेर लाग्दछ, जब नजिकैको मित्रले सफलता हासिल गर्दछ तब मुखले बधाई छ भनिएतापनि मनबाट चाहिँ बधाई ज्ञापन गर्न गाह्रो हुन्छ । संसकित मनले के सोच्छ सोच्छ, किनकी हरेक मानिसको यात्राको गोरेटो बेग्लै किसिमको हुन्छ र यो जिवनको गोरेटोले कसैसंग मेल खाँदैन । तर पनि यो मन त्यसै बहिकन्छ ।बहकिने मनले अरुले राम्रै काम गरेपनि नराम्रै सोच्दछ किनकी यो मन आफ्नो प्रगति नभएको भन्दा पनि अरुको प्रगति भएको देख्दा भित्रभित्रै जलन हुन्छ तर बाहिर मुस्कुराइरहेको हुन्छ ।
कति साह्रै यो मन नचाहिने कुरामा अग्रसर हुन्छ, कहिले काही त विचार नै विचारको विचमा रहेर ठोस प्रतिक्रिया दिन पनि अवरोध सिर्जना गरिरहेको हुन्छ । कस्तो बिडम्बना, एउटा खास दृष्टिकोण राख्न नसकिने !
कति चाँडो परिबर्तन हुन सकेकोरु बिहान एकथरी कुरा त्यो मनमा आउँछ, दिउँसो अर्को थरी आउँछ त, बेलुका भिन्नै विचारले ठाउँ राख्न पाउँदछ । भिन्न भिन्नै विचार राख्ने मनहरुको बिच झन मेलमिलाप कसरी सम्भव होला रु कस्तो योजना बन्ला र कसरी कार्यान्वयन होला रु यही कारण होला देशको राजनितिले देश विकासमा फर्डको मार्न नसकेको । स्वार्थै स्वार्थमा बोलिने ति वाक्य र अभिब्यक्तिले साच्चै देश विकास त कछुवाको तालमा पो गर्ने भयो जुन भइरहेको पनि छ ।
पदमा पुगेका र नपुगेका बिच द्वन्द्व सिर्जना गराउने खेल पनि मनैको त हो । एउटाको मनमा रहेको भावनालाई साथ दिन कति मनहरु हो मा हो गर्छन् । मन बहकिए पछि के लाग्छ र, यहा राजनितिशास्त्रलाई चुनौती दिने किसिमले अग्रगमन र प्रतिगमनको ब्याख्या गरिन्छ र त्यसैमा आम सर्वसाधरण भुल्दछन् । आम सर्वसाधरण जति मन यसरी बहकाउँछन् त्यति राजनितिज्ञलाई राजनिति गर्न टेवा पुग्दछ ।