काठमाडौं। दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका अनुसार शुक्रबार ५४ जिल्लाका चार सय ३७ स्थानमा, शनिबार ५१ जिल्लाका दुई सय नौ र आइतबार ५१ जिल्लाको दुई सय ८३ स्थानमा डढेलो लाग्यो । बिहीबार ४५ जिल्लाका चार सय ७९ स्थानमा डढेलो लागेको थियो, यसबाहेक बस्तीका कैयौं क्षेत्रमा दिनहुँ आगलागी भए । बिहीबार त वर्षकै सबैभन्दा बढी डढेलो लाग्यो ।
यी तथ्यांकले देशका विभिन्न भाग डढेलोको चपेटामा आएको देखाउँछ । डढेलो नियन्त्रण सञ्जालका अनुसार आइतबार डढेलो मध्य र पश्चिम तराईका जंगलमा केन्द्रित छ । ‘यसको अर्थ पहाड र हिमाली क्षेत्रमा डढेलो छैन भन्ने होइन, तर तराईमा अधिक डढेलो छ,’ सञ्जालका संयोजक सुन्दरप्रसाद शर्माले भने ।
जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठका अनुसार यो वर्ष हिउँदमा पर्याप्त पानी परेन र प्रिमनसुन पनि सुक्खा नै छ । सुक्खायाममा आगलागी र डढेलाका घटना बढी हुने गरेकोमा यस वर्ष लामो समय सुक्खा हुँदा घटना बढ्दै गएको आंकलन छ । वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।
अष्ट्रेलियामा रहेको मोनास विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार जलवायु परिवर्तनका कारण वनजंगलमा डढेलोका घटना बढिरहेका छन् । ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित शोधअनुसार जलवायु परिवर्तनका कारण डढेलो बढ्नुमा तीन कारण छन् । जलवायु परिवर्तनले इन्धन, अक्सिजन र आगोका स्रोतलाई मद्दत पुगिरहेको छ ।
जलवायुमा आएको परिवर्तनले वर्षाको प्याटनमा लगातार परिवर्तन भइरहेको छ भने खडेरी पनि बढिरहेको छ । यससँगै विश्वव्यापी तापक्रम पनि बढिरहेको छ । जसकारण पातपतिंगर र बुट्यानमा सहजै डढेलो टिप्ने गरेको छ ।
आगलागीका घटना बढ्दा हरितगृह ग्यासको उत्सर्जन पनि बढिरहेको अध्ययनको निष्कर्ष छ । नेपालमा यसबारे सरकारी निकायबाट अध्ययन त भएको छैन, तर समयमै पानी नपर्नु, पानी परे पनि पर्याप्त नहुनुलगायतका कारणले पनि डढेलोका घटना बढ्नमा सघाउ पुगिरहेको श्रेष्ठले बताए ।
रेडपान्डाको समेत वासस्थान रहेको पाथीभरास्थित जंगलमा ११ दिनसम्म डढेलो लाग्यो । डढेलोका कारण एक सय पाँच हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्यांक छ । ११ पुसमा सल्केको डढेलोले पाथीभरा मन्दिर नै जोखिममा परेपछि हेलिकोप्टरले बकेटबाट पानी बर्साएर निभाउनुप¥यो । डढेलो नियन्त्रण सञ्जालका संयोजक शर्माका अनुसार नेपालमा डढेलो नियन्त्रणका लागि हेलिकोप्टर नै परिचालन गरिएको यो पहिलो घटना हो ।
‘सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन हुँदा पनि डढेलो नियन्त्रणमा लिन धौ–धौ प¥यो,’ डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख वीरेन्द्र साहले भने, ‘हिउँदमा त्यति धेरै डढेलो त लाग्दैनथ्यो, ११ दिनसम्म डढेलो सल्किँदा पनि पानी परेन ।’
मनाङ, मुस्ताङका वनजंगलमा हप्तौँसम्म डढेलो लागेको थियो भने पाल्पाको तानसेन बजारनजिकै वनदेवी, होलाङ्दी, श्रीनगरडाँडा वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा सेना, प्रहरी परिचालन गर्नुपरेको थियो । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो एक सातामा मुलुकमा आगलागीका ९० वटा घटना भएका छन् । ती घटनामा ६ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आगलागीका कारण ५७ घरमा पूर्ण क्षति र ४२ घरमा आंशिक क्षति भएको छ ।
प्राधिकरणका अनुसार गत १ वैशाखदेखि १५ चैतसम्म मुलुकमा आगलागीका दुई हजार एक सय ७८ घटना भएका छन् । ती घटनामा ८३ जनाको ज्यान गएको छ भने तीन सय ४५ जना घाइते भएका छन् । आगलागीका घटनाका कारण दुई हजार आठ सय २४ घरपरिवार प्रभावित बनेका छन् ।
प्राधिकरणका प्रवक्ता जनार्दन गौतमका अनुसार सुक्खायाममा आगलागीका घटना बढी हुने गरेका छन् । खाना पकाउँदा, बालबालिकाले आगोका स्रोत चलाउँदा तथा जंगलमा लागेको डढेलो बस्तीमा सल्किएर आगलागी हुने गरेको उनले बताए । त्यसबाहेक चट्याङ र विद्युत् सर्ट भएर पनि आगलागी हुने गरेका छन् ।
डढेलो नियन्त्रण विज्ञ शर्मा भन्छन्, ‘अप्रिलमा नै किन बढी डढेलो लाग्छ भनेर ठ्याक्कै कारण त मलाई थाहा छैन । तर, सुक्खा बढी हुने भएर होला । डढलो मानवीय कारणले लाग्ने गर्छ । चुरोट खाएर टुटो त्यतिकै फ्याँकिदिँदा डढेलो लागेर ठूला घटना हुने गरेका छन् । त्यसबाहेक नयाँ पालुवा र घाँसको लोभमा पनि वनजंगलमा डढेलो लगाउने गरेको पाइन्छ । यस वर्ष हिमपात भएन, पर्याप्त पानी पनि परेन । वैशाख–जेठमा ठूलो हावाहुरी चल्छ, यस्तो वेला आगलागी र डढेलाका घटना बढी नै हुने गर्छन् ।’
यस वर्ष डढेलो निभाउन पुगेका तीन जनाको मृत्यु र एकजना घाइते भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । सन् २००९ मा व्यापक डढेलो लाग्दा निभाउन गएका ४९ जनाको ज्यान गएको थियो । सोही वर्ष रामेछापको डढेलो नियन्त्रणमा पुगेका १३ सैनिकले ज्यान गुमाएका थिए ।
असर : अझै घटेन वायु प्रदूषण, बुधबारबाट सुधारको अपेक्षा
बिहीबार वर्षकै अधिक डढेलो सल्किँदा भोलिपल्टबाट काठमाडौंलगायतका अन्य क्षेत्रको आकाश तुवाँलोले ढाकेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यका मात्र होइन, पोखरा, पाँचखाललगायतका उपत्यकामा पनि तुवाँलो लागेको छ । आइतबारसम्म मुलुकका मुख्य सहरमा बढेको वायु प्रदूषण घट्न सकेको छैन ।
आइतबार अपराह्न ललितपुरस्थित भैँसेपाटी क्षेत्रमा वायुको गुणस्तर सूचकांक (एक्युआई) २६६ पुगेको छ । वायु मापन केन्द्रमा एक्युआई घटबढ भइरहेको देखाइएको छ । यसैगरी, एक्युआई भक्तपुरमा २५७, सौराहामा २९८, सिमरामा २६९, धनगढीमा २५५, कीर्तिपुरमा २४१ र पोखरामा २३९ रहेको छ । यो सूचकांक २०० नाघ्नुलाई अति अस्वस्थकर र ३०० नाघ्नुलाई घातक मानिन्छ । सूचकांक अधिकतम २०० नाघेमा बालबालिका, वृद्धवृद्धा र दीर्घरोग लागेका व्यक्तिलाई असर गर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले काठमाडौंसहित मुलुकका विभिन्न उपत्यकामा रहेको तुवाँलो मंगलबारबाट हट्दै जाने सम्भावना रहेको बताइन् । ‘पश्चिम नेपालमा पश्चिमी वायु देखिएको छ, यो वायु मंगलबारसम्म काठमाडौं आइपुग्दा चट्याङसहित हल्का पानी पर्न सक्छ,’ उनले भनिन्, ‘काठमाडौंको आकाश सोमबार त खुल्ने सम्भावना देखिँदैन, तर मंगलबार, बुधबारबाट सुधार हुँदै जान्छ ।’
तर, मुलुकका विभिन्न वनजंगलमा लागेको डढेलोको धुवाँ वायुमण्डलको सतहमै रहेकाले प्रदूषण निष्क्रिय हुन सकेको छैन । ‘वायुमण्डलमा तह–तह हुन्छ । तर, हावा तलमाथि भएको छैन । जसले गर्दा जमिन नजिकको वायुमण्डलको धुलाको कण माथि गएको छैन, तलमाथि नहुँदा सतहमा जम्मा भएर बसेको हो,’ उनले भनिन् ।
प्रदूषणका कण वायुमण्डलमा जम्मा भएकाले धेरैजसो स्थानमा (मुख्यतः उपत्यकामा) प्रदूषण बढ्न गई पारदर्शिता (भिजिबिलिटी) पनि घटेको छ । जसले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान पनि तीन दिनदेखि प्रभावित हुँदै आएका छन् ।
डढेलो लाग्ने मुख्य सिजन अझै बाँकी छ–सुन्दरप्रसाद शर्मा, डढेलो नियन्त्रणविज्ञ
नेपालमा मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । तर, यो वर्ष मंसिर–पुसबाटै डढेलो लाग्यो । गत बिहीबार त यस वर्षकै सबैभन्दा बढी डढेलोको रेकर्ड भयो । तर, डढेलो लाग्ने मुख्य सिजन अझै बाँकी नै छ । नेपालमा वैशाखको दोस्रो हप्ता डढेलोले पिक लिन्छ, त्यसैले डढेलोको पिक आवर आउन बाँकी नै छ ।
वैशाखमा उच्चतम बिन्दु पुग्ने अनुमान छ
अनिल पोखरेल, कार्यकारी प्रमुख
विपत् जोखिम न्यूनीकरण प्राधिकरण
यस वर्ष पानी नपरेका कारण डढेलोका घटना बढेका छन् । यसलाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्नुपर्छ । डढेलो वैशाखमा उच्चतम बिन्दुमा पुग्ने अनुमान छ । डढेलोका विषयमा वन तथा वातावरण मन्त्रालय र साधन–स्रोतको व्यवस्थापनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको छ । आवश्यक परेको क्षेत्रमा सेना, प्रहरी पनि परिचालन हुने गरेका छन् । नयाँ पत्रिका दैनिकबाट