होली मेलामा झडप हुँदा दुई युवाको मृत्यु, केही हराएको आशंका

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं.९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सीमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुनसक्ने खत्रीले आशंका गरे । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् ।

उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए । घटनास्थल मानव वस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।
आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशंका गरिएको छ ।

घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ । विस्तृत विवरण आउँन बाँकी छ । रासस

 
 
  
 

You may also like