विपन्नता र अपांगताबीच मुसहर बस्तीमा निःशुल्क पढाउँदै एक युवा

ह्विलचेयरको भरमा उनी हरेक दिन तीन किलोमिटर यात्रा गरेर मुसहरबस्ती पुग्छन्
विराटनगर । आफै सुकुम्बासी परिवारका सदस्य हुन्, तर विपन्नलाई सहयोग गर्न उनी अघि सरेका छन् । आफै ह्विलचेयरमा हिँडडुल गर्नुपर्ने बाध्यता छ, तर समाजलाई जागृत र शिक्षित बनाउने उनको यात्रा निरन्तर छ ।

आफै कठिन जीवन सामना गरिरहेका विराटनगर– १६ रानीनिवासी ४० वर्षीय राजु क्षेत्री सीमा क्षेत्रमा बसोवास गर्ने भूमिहीन मुसहर समुदायका बालबालिकालाई पढाइरहेका छन् । ह्विलचेयरको भरमा उनी हरेक दिन तीन किलोमिटर यात्रा गरेर मुसहरबस्ती पुग्छन् जहाँ करिब ५० बालबालिका जम्मा हुन्छन् । पढ्ने उमेरका यी बालबालिकाका लागि सरकारको दायित्व के हो ? थाहा छैन । तर, राजुले उनीहरूलाई निःशुल्क, तर नियमित पढाउँदै आएका छन् ।

मुसहर समुदायका बालबालिकालाई पढाउने मात्र होइन, पैसा जुटाएर कापी–कलम किनिदिने र वेलावेला खाजा र चकलेटसमेत वितरण गर्छन् राजु । उनको स्नेहले बालबालिकालाई आकर्षित गरिरहेको छ । छोराछोरीले पढ्न थालेपछि मुसहरबस्तीका अभिभावक पनि दंग छन् । ‘नजिक स्कुल छैन, टाढा पठाउन हामीसँग पैसा छैन । त्यसैले केटाकेटी दिनभर खेलेर बस्थे । तर, राजुसर आएर निःशुल्क पढाउन थालेपछि हाम्रा केटाकेटी धेरै सुध्रिएका छन्,’ स्थानीय जलसीदेवी ऋषिदेव भन्छिन् ।

राजुका बुबा कृष्णबहादुर बोगटी पहिले विराटनगर जुटमिलमा मजदुरी गर्थे । तर, मिल बन्द भएपछि उनी बेरोजगार छन् । दुवै छोरीको बिहे भइसकेको छ । दुवै खुट्टा अपांगता भएका राजुले नै कमाएर आमाबाबु पाल्दै आएका छन् ।

विराटनगर– १६ रानीमा प्रहरी तालिम केन्द्रपछाडिको सुकुम्बासी बस्तीमा उनीहरूको सानो घर छ । राजु विराटनगर आँखा अस्पतालमा चस्मा विभागमा काम गर्छन् । पारिश्रमिक छ– मासिक १४ हजार । त्यही कमाइले उनीहरूको घरबार दुःखले चल्छ ।

राजु पहिले सपांग थिए । खेल्थे, कुद्थे र पढ्न जान्थे । कक्षा ५ मा पढ्दा एक दिन साइकल पल्टिँदा उनी नालामा लडे । त्यसपछि उनको खुटा फुल्न थाल्यो । वैद्यले दुई महिना राखेर तेलमालिस गरे, तर निको भएन । बरु समस्या झन् बढ्यो । बाबुआमाले ऋण खोजेर उनलाई उपचारका लागि काठमाडौं टिचिङ अस्पताल पुर्‍याए । डाक्टरहरूले नसामा चोट लागेकाले निको हुन नसक्ने जानकारी गराए । ‘ढाडको नसामा चोट लागेकाले दुवै खुट्टा सुक्दै गए । जिउ पनि खुम्चँदै र सुक्दै गएको छ,’ बाबु कृष्णबहादुर भन्छन् ।

राजुले भने हरेश खाएनन् । उनी निरन्तर ह्विलचेयरमा बसेर विद्यालय गए । एसएलसी पास गरे । त्यसपछि विराटनगरस्थित मोरङ क्याम्पसमा भर्ना भए । आइएड पास गरे र बिएको पहिलो र दोस्रो वर्ष उत्तीर्ण गरे । तर, आर्थिक प्रतिकूलताले तेस्रो वर्षको परीक्षा दिन पाएनन् । उनको पढाइ अधुरै रह्योे ।

विपन्नता र अपांगतालाई चुनौती दिएर उनी समाजसेवामा अघि बढे । एउटा निर्वाचनमा उनले नेताहरूसँग भोट माग्दै हिँड्ने अवसर पाए । त्यही क्रममा उनी बर्खामा सधैँ डुबानमा पर्ने सीमाक्षेत्रका मुसहरबस्ती पनि पुगे जहाँ बालबालिकाका लागि विद्यालय थिएन । नेताजीले विद्यालय, शिक्षक सारा व्यवस्था गर्ने भनेर आश्वासन दिएका थिए । नेताले भाषण बिर्सिए, तर राजुले सम्झिएका थिए । त्यसैले उनी बालबालिका पढाउन आफै अघि सरे ।

विद्यालय भवन थिएन, त्यसैले खुला चौरमा बालबालिका जम्मा गरेर पढाउन थाले । भुइँमा बस निःशुल्क पढाइदिन्छु भन्दा ५० घरपरिवार भएको मुसहरबस्ती नै खुसी भयो । उनीहरूले आफ्ना छोराछोरीलाई बोरा दिएर विद्यालय पठाउन थाले । त्यही बोरामा बसेर विद्यार्थीले राजुसरसँग पढ्न थाले । राजुको निःस्वार्थ शिक्षा सेवाबारे मानिसहरूले थाहा पाउन थाले । लायन्स क्लब पाथीभराले विद्यार्थीका लागि एककोठे भवन बनाइदियो ।

भवन बनेपछि खुला आकाशमुनि चिसो भुइँमा बसेर पढ्दै आएका बालबालिका कोठाभित्र बसेर पढ्न थाले । अस्ट्रेलियामा रहेका नवीन रम्तेलले पानीखानेको कल बनाइदिए । कसैले शौचालय बनाइदिए । वडा कार्यालयले बालकेन्द्रसम्म जाने बाटो बनाइदिएको छ । त्यसभन्दा अघि राजु ‘ट्राइसाइकल’ बाटोमै छाडेर मामा पारस थापाको काँधमा बसेर बालकेन्द्रसम्म पुग्थे । हास्यकलाकार पारसले राजुको समाजसेवामा निकै ठूलो ऊर्जा दिएका थिए ।

गरिब र भूमिहीन समुदायका मुसहर बालबालिकालाई पढाउन राजुसँग सहकार्य गरेकी छिन् श्रीमती संगीता गजुरेल क्षेत्रीले । श्रीमतीको सहयोग पाएपछि राजु समयमै अस्पतालको काममा जान्छन् । संगीता दिउँसो बालबालिकालाई निःशुल्क पढाउँछिन् । नगरपालिकाले बालकेन्द्रका रूपमा लिने र संगीतालाई पारिश्रमिक दिने भने पनि अझैसम्म दिएको छैन ।

बालकेन्द्रमा लायन्स क्लब पाथीभराले थप एक कोठा भवन थपिदिँदै छ । तर, पढ्न बालबालिकालाई पोसाक र खाजाको व्यवस्था छैन । कतिपय बालबालिका नांगै पढ्न आउँछन । अनि बालकेन्द्रभित्र बस्न सुकिलो म्याट, कार्पेट, बेन्च केही पनि छैन । बालबालिकाले नियमित कापी–किताब पनि पाउँदैनन् । धेरैले मौखिक पढ्ने गर्छन् । बालकेन्द्रवरिपरिको वतावरण पनि सरसफाइयुक्त छैन ।

‘हामी श्रीमान–श्रीमतीले पढाउन सक्छौँ, तर पूर्वाधार बनाउन सक्दैनौँ । सरकारले बालकेन्द्रलाई संरक्षण गरेर बालमैत्री बनाइदेओस् भन्ने कामना छ । कलिलो उमेरमै बिहे गर्ने मुसहर बालबालिकाले पढ्न पाए उनीहरूको भविष्यमा पनि केही सुधार हुने थियो, उनीहरूका छोराछोरी पनि स्वस्थ हुने थिए,’ राजु भन्छन् ।

दुवै खुटा नचल्ने भएपछि पूर्ण अपांगता भएका राजुले ३७ वर्षको हुँदासम्म पनि बिहेबारे कुनै योजना बनाएका थिएनन् । तर, उनी वेलावेला बहिनीहरूलाई भेट्न काठमाडाैं पुग्थे । त्यहीवेला नुवाकोटको बेलकोटगढी गाउँपालिकाबाट पढ्न आएकी २३ वर्षीया युवती संगीता गजुरेलसँग उनको चिनजान भयो ।

कम्प्युटर पसलमा रोजगारी गरेर संगीता महेन्द्र रत्न क्याम्पस ताहचलमा पढ्थिन् । राजुका दिदी–बहिनीका डेराका छिमेकी भएकीले संगीता र राजुसँग भेटघाट हुन थाल्यो । राजुको स्वभाव र विचारबाट संगीता प्रभावित भइन् । दुवैले फोन नम्बर आदान–प्रदान गरे, फेसबुकले सम्बन्ध अझै गहिरो भयो ।

दुवैबीच प्रेम भएको थाहा पाएपछि राजुका बहिनीहरूले बिहेको प्रस्ताव गरे, संगीताले सहर्ष स्वीकार गरिन् । तर, संगीताका अभिभावक भने असन्तुष्ट भए पनि संगीताकोे अठोटसँग उनीहरूको केही लागेन । अन्ततः दुवै पक्षका अभिभावकको सहमतिमा मैतीदेवी मन्दिरमा उनीहरूको बिहे भयो । तीन वर्ष भयो बिहे भएको । एकले अर्कालाई सहयोग गर्दै आएका छन् । राजुले पढाउन सुरु गरेको बालकेन्द्रमा संगीताले पनि शिक्षककै रूपमा सहयोग गरेकी छिन् । तर, अहिलेसम्म यो बालकेन्द्रलाई सरकारले जिम्मा लिएको छैन । निःशुल्क पढाइरहेका छन् राजु र संगीता । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like