मनाङ ट्रक दुर्घटना अपडेट : मृतक संख्या ६ पुग्यो

काठमाडौँ ।मनाङको नासों गाउँपालिकामा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।नासों गाउँपालिका वडा नंबर ४, खोत्रो भन्ने स्थानमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । बाँकी तीन जनामध्ये २ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार मृत्यु हुनेमा मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनीषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृतक लियोन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।

दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जना ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मुका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

नासों गाउँपालिका १ तालका ३ वर्षीय थियोन गुरुङको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङ सदरमुकाम बेसीशहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटना भएको थियो ।

 
 
  
 

You may also like