यसरी पत्ता लागे दुर्गाप्रसाद, निःशुल्क बहस गरे वकिलले
झापा। कसुर प्रमाणित नभईकन ४१ वर्षदेखि भारतीय जेलमा बन्दी बनाइएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले आज (शनिबार) खुला आकाश देख्दै छन् । पश्चिम बंगालको कोलकातास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त हुँदै छन् ।
दुर्गाप्रसादविरुद्ध सन् १९८० मा दार्जिलिङ पुलिसमा हत्या आरोपको जाहेरी परेको थियो । दार्जिलिङका नैन घलेले आफ्नी श्रीमतीको हत्या गरेको भन्दै जाहेरी दिएका थिए । जेल पर्दा २० वर्षका दुर्गाप्रसाद अहिले ६१ वर्षका भएका छन् ।
३९ वर्षसम्म उनीविरुद्धको मुद्दामा सुनुवाइ नै भएन, कसुर प्रमाणित नभईकनै दुर्गाप्रसादले जीवनका महत्वपूर्ण समय भारतीय जेलमा बिताउनु पर्यो । सुरुमा दार्जिलिङ, त्यसपछि अलिपुर हुँदै पछिल्लो १४ वर्षदेखि उनलाई कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ राखिएको थियो । कारागारमा उनलाई दीपक जैसीका नामले राखिएको छ । उनलाई घरमा बोलाउने नाम दीपक थियो ।
मरे–बाँचेको पत्तो नभएका दुर्गाप्रसाद कोलकातास्थित कारागारमा रहेको जानकारी परिवारले केही महिनाअघि मात्रै पाएको थियो । गत १० फागुनमा भाइ (काकाको छोरा) प्रकाशचन्द्र तिम्सिनाले उनलाई कारागारमै गएर भेटेका थिए । उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी. राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार दुर्गाप्रसादलाई छाड्ने आदेश दिएका थिए । तर, केही कागजी प्रक्रिया बाँकी थिए ।
शुक्रबार भाइ प्रकाशचन्द्रले अदालतको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘आज (शुक्रबार) नै छुट्ने भन्ने थियो । तर, अदालतमा कागज मिलाउँदा समय लाग्यो,’ दाइलाई लिन कोलकातामै रहेका प्रकाशचन्द्रले भने, ‘मैले सम्झौता पेपरमा हस्ताक्षर गरेको छु ।’
दाइलाई छुटाएर घर लैजान प्रकाशचन्द्र निकै उत्साहसहित कोलकाता आएका थिए । तर, अदालतको आदेशले उनलाई केही निराश बनाएको छ । किनभने उच्च अदालतले दुर्गाप्रसादको दिमागी हालत ठीक नभएकाले छाडेको बताएको छ । उनको मुद्दा किनारा लागेको छैन । कोलकातास्थित महावाणिज्य दूतावासमार्फत ६–६ महिनामा उनको अवस्थाबारे जानकारी गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।
दिमागी हालत ठीक नभएसम्म दुर्गाप्रसादले घरमा बस्ने सुविधा पाउने छन् । त्यतिवेलासम्म उनको कुनै मुद्दा–प्रक्रिया अघि नबढ्ने दुर्गाप्रसादको तर्फबाट मुद्दा लडिरहेका वकिल हीरक सिन्हाले बताए । ‘उनको दिमाग नौ वर्षको बालकको जस्तो छ । आफ्नो, बुबा–आमाको र आफूले पढेको स्कुलको नाम मात्र भन्न सक्छन्,’ शुक्रबार उच्च अदालत परिसरमा सिन्हाले भने, ‘यहाँ (कोलकातामा) रहेको महावाणिज्य दूतावासमार्फत ६–६ महिनामा दीपक (दुर्गाप्रसाद)को अवस्था जानकारी गराउनुपर्छ । उनको दिमागी अवस्थाबारे डाक्टरको रिपोर्ट आएपछि मात्र मुद्दा अघि बढ्छ ।’ कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार मुद्दाको सुनुवाइ नै नगरी चार दशकसम्म जेलमा राख्दा उनलाई परेको मानसिक, शारीरिक असर र समग्र जीवनको क्षतिपूर्ति माग–दाबी गरी भारतको सर्वोच्च अदालतमा मुद्दामा जान सकिने राय वकिलहरूले दिएका छन् ।
यसरी पत्ता लागे दुर्गाप्रसाद, निःशुल्क बहस गरे वकिलले
केही समय दुर्गाप्रसादसँगै जेलमा बसेका राधेश्याम दासले उनको कुरा बाहिर ल्याएका हुन् । कोलकाताका लागि नेपालका महावाणिज्यदुत ईश्वरराज पौडेलका अनुसार उनी राजनीतिक बन्दी हुन् । जेलबाट छुटेपछि केही महिनाअघि दासले वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादका बारेमा बताएका थिए । क्लबले अधिवक्ता हीरक सिन्हालाई जानकारी गरायो ।
अधिवक्ता सिन्हाले सन् २०२० को नोभेम्बरमा जेलमै पुगेर दुर्गाप्रसादलाई भेटे । ‘एउटा व्यक्ति ४१ वर्षदेखि जेलमा छ, उसको सुनुवाइ भएको छैन भनेर राधेश्यामले भनेपछि म जेलमा पुगेँ । त्यतिखेर उनी शारीरिक रूपमा ठीक थिए । मानसिक रूपमा बिरामी देखिन्थे,’ सिन्हाले भने, ‘मैले अलिअलि नेपाली जानेको थिएँ । नेपालीमा दाजु राम्रो छ भनेर सोधें । सकारात्मक भएर उहाँले ठीक छु भने । घर कहाँ हो भन्दा इलाम चियाबगान भन्ने ठाउँमा भने । बुबाआमाको नाम र स्कुलको नाम डायरीमा लेखे ।’
त्यसपछि सिन्हाले दुर्गाप्रसादको मुद्दा आफैं हेर्न थाले । उनीहरूकै पहलमा नेपालस्थित आफन्तको खोजी गरिएको थियो । हीरकसहित वकिल मालायी भट्टाचार्य, सूर्यज्योति घोष र स्वेकाट बेनर्जीको टिमले निःशुल्क मुद्दालाई हेरिरहेको छ । ‘एउटा व्यक्ति विनासुनुवाइ ४१ वर्ष जेल परेको छ । मानवीयताका नाताले हामीले यो मुद्दा हेर्यौँ,’ अधिवक्ता सिन्हाले भने, ‘उहाँ छुट्दै हुनुहुन्छ । धेरै खुसी छौं ।’
रेडियो क्लबका मानिसहरूले नेपाली महावाणिज्य दूतावासमा पनि खबर गरेका थिए । ‘त्यहीबीचमा मिडियामा दुर्गाप्रसादबारे समाचार पनि आयो । दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले पनि चासो राख्नुभयो । त्यसपछि यस विषयलाई हेर्न हामीले दूतावासका कर्मचारी सतिश थापालाई पूर्ण रूपमा यही काममा लगायौँ । यो विषय बाहिर आएको तीन–चार महिनामा हामीले उनलाई जेलबाट निकाल्न सफल भएका छौँ,’ महावाणिज्यदूत पौडेलले भने ।
यसरी परेका थिए जेल
आफ्नी पत्नी जनु गुरुङको हत्या गरेको भन्दै दार्जिलिङका नैन घलेले सन् १९८० मा दुर्गाप्रसादविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दुर्गाप्रसादलाई पक्राउ गरेको थियो ।
‘मेरो श्रीमती जंगलमा दाउरा खोज्न गएको थियो । गाउँलेले भने– तेरो स्वास्नीलाई जंगलमा कुनै मानिसले हत्या गरिराखेको छ । यो सुन्नसाथ म घटनास्थलमा गएँ । श्रीमतीलाई चिनें । उसको शरीर नांगै थियो, टाउको र देब्रे हात छिनिएको थियो,’ जाहेरीमा भनिएको छ, ‘यो विषयमा सोधपुछ गर्दा गाउँमा इलाम बस्ने नेपाली केटो आएको थियो । त्यसको उमेर करिब २०–२२ को हुनुपर्छ । कालो वर्णको, कोठे पाइन्ट र खैरो रंगको पुरानो ज्याकेट लगाएको, बिहान करिब ८–९ बजेतिर गाउँमा आएको रहेछ । त्यो केटोले आफ्नो नाम दीपक जैसी भनेको थियो ।’ तर, प्रहरीमा जाहेरी दिएपछि नैन घले कुनै अड्डा–अदालतमा नगएको दाबी प्रकाशचन्द्रको छ । जाहेरी नै फर्जी रहेको उनको भनाइ छ । ‘जाहेरीपछि नैन घले कतै फलोअप गर्न गएको देखिँदैन । त्यसकारण पनि यो आरोप फर्जी हो,’ उनले भने ।
भाइ प्रकाशचन्द्र तिम्सिना भन्छन्, ‘दाइ दोषी छन् भन्ने प्रमाण नै छैन’
४१ वर्षअगाडि दाइ हराएपछि पनि सोधखोज गरेका थियौँ । त्यसवेला अहिलेजस्तो सञ्चारको पहुँच थिएन, त्यसैले पत्ता लगाउन सकेनौँ । दाइ हराएको वेला दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किरहेको थियो । त्यो आन्दोलनमा परेर धेरै नेपाली मारिए भन्ने सुनिन्थ्यो । लामो समयसम्म दाइ नफर्किएकाले कतै त्यही आन्दोलनमा पर्नुभयो कि भन्ने लाग्यो । हामीले माया मारिसकेका थियौँ । तर, तीन–चार महिनाअघि विभिन्न माध्यमबाट दाइ भारतको जेलमा भएको जानकारी प्राप्त भयो ।
कोलकाताका महावाणिज्यदूत ईश्वरराज पौडेलले पनि फोन गरेर खबर गर्नुभयो । मलाई कोलकातासम्म एक्लै आउन सम्भव थिएन । विश्व सेवा विस्तार संस्थासँग सहयोग मागेँ । त्यहाँबाट प्रतिनिधि इन्द्र बस्नेत आउनुभयो । उहाँसँगै आएर १० फागुनमा पहिलोपटक दाइलाई भेटें । त्यसअघि अधिवक्ता हीरक सिन्हाले दाइको फोटो देखाउनुभएको थियो । जेलमा गएर पनि ल्यापटपमा दाइको प्रोफाइल हेरेँ । पहिलो भेटमा आफ्नै दाइ हुन्–होइनन् भन्ने स्पष्ट हुन मैले केही प्रश्न गरेँ । उहाँले सबै उत्तर मिलाएपछि मेरै दाइ हुन् भन्ने निश्चित भयो ।
पहिलो पटक म यहाँ आउनुअगाडि नै नाता प्रमाणित हुने कागजात र जिल्ला प्रशासन कार्यालय इलामको पत्र पठाइसकेको थिएँ । त्यसैको आधारमा ११ फागुनमा यहाँको उच्च अदालतमा निवेदन हालेको थिएँ । त्यसपछि अदालतले छोड्न आदेश दियो । आदेशमा मेरो नामै उल्लेख गरेर बुझाउनु भनेकाले यसपटक लिनका लागि म आफैँ आएको हुँ । जुन उत्साहका साथ यहाँ आएको थिएँ, अहिले त्यसमा केही कमी आएको छ ।
दाइमाथि लगाइएको अभियोगको मुद्दा किनारा लागिसकेको रहेनछ । उहाँ दोषी हो भन्ने बलियो प्रमाण नभए पनि उहाँलाई निर्दोष भनेर छाडेको होइन । दिमागी अवस्था ठीक नभएको भनेर मात्र छाडेको छ । यसले गर्दा धेरै खुसी हुने अवस्था छैन । यहाँबाट लिएर गइसकेपछि पनि ६–६ महिनामा दाइको मानसिक अवस्था अदालतलाई जानकारी गराउनुपर्ने आदेशमा उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट