बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघ नियन्त्रण

बर्दिया। बर्दियाको मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर बिहीबार दिउँसो करिब १४ वर्ष उमेरको बयस्क भाले पाटेबाघलाई नियन्त्रणमा लिएको हो ।

मधुवन नगरपालिका–३ स्थित खाता जैविक मार्गको गौरी सामुदायिक वनमा डार्ट गरेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिएका छन् ।

यसअघि गएको बुधबार पनि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट एउटा नरभक्षी बाघ नियन्त्रणमा लिइएको थियो । एक साताअघि मधुवन नगरपालिका–३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेपछि निकुञ्जले त्यस क्षेत्रमा आठ वटा क्यामेरा जडान गरेको थियो ।

बिहीबार नियन्त्रणमा लिएको बाघ क्यामेरामा चार पटक कैद भएपछि प्राविधिक टोली खटाएर त्यसलाई नियन्त्रणमा लिइएको कडरियाले जानकारी दिए । निकुञ्ज प्रशासनले समातिएका दुबै बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राख्ने तयारी गरेको छ ।

 
 
  
 

You may also like