काठमाडौं । साविक नेकपा हुँदा दुई खेमामा पुगेका एमालेका नेता पार्टी ब्युँतिँदा पनि मिल्न सकेका छैनन् । बरु वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला बुधबार सुरु भएको छ । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै नौ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली नियोजितरुपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुपर्ने असाधारण परिस्थितिमा भेला आयोजना गर्नुपरेको जनाएका छन् ।
पार्टीमा हुर्कंदै गरेको चरम महत्वाकांक्षी व्यक्तिवादी गुटबन्दीले पार्टी र आन्दोलनमाथि थप्दै गरेको चुनौती, त्यसले भत्काउँदै गरेको सामूहिकतायुक्त पार्टी जीवन, लोकतान्त्रिक मूल्य र भावनाको क्षय, विचारहीन, असैद्धान्तिक तथा अराजनीतिक प्रवृत्तिको वृद्धि, त्यसले पार्टी र आन्दोलनमा उत्पन्न गरेको विभाजन तथा विघटनका आशंका बढ्दै गएका प्रतिवेदनमा उल्लेख छ ।
भारतीय नाकाबन्दी सामना गरेको प्रधानमन्त्रीका रुपमा ओलीको लोकप्रियतापछि व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गाएको आरोप नेपालले लगाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट