६ करोड खर्चेर देउखुरीमा प्रदेश सभाको अस्थायी भवन बनाइँदै, बजेट अधिवेसन दाङमा गर्ने तयारी

बुटवल।लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश सभा भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ। ६ करोडको लागतमा प्रदेश पूर्वाधार प्राधिरणरणले केही वर्षको लागि मात्र उपयोगमा आउने गरी प्रदेश सभाको अस्थायी संरचना बनाउन लागेको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैँयाले दिर्घकालको लागि नभई केही वर्षको लागि मात्र ट्रस्ट सहितको भवन बनाउन लागिएको बताए। ‘दिर्घकालिन समयको लागि त अर्को भवन पछि बन्ला, तर अहिले बनाउन लागिएको भवनले १०–१५ वर्ष मज्जाले धान्छ।’ उनले भने।

भवनको निर्माणको लागि प्राधिकरणले टेण्डर प्रक्रिया अघि बढाएको छ। असारसम्म निर्माण सक्ने योजना रहेको मजगैँयाले बताए। भवनमा बैठक हल र केही कोठा रहने छन्। ‘ठूलो हल भइहाल्यो, मतदान गर्नको लागि हलकाे दुबै तिर कक्ष हुन्छ। साउण्ड सिष्टमको लागि कोठा, सभामुख कक्ष लगायत रहने छ।’ उनले भने ‘विचको हलले दुबै तला कभर गर्छ। साइड साइडका कक्ष एक–एक तलाको हुन्छ।’ तर त्यो भवनमा प्रदेश सभा सचिवालय भने हुने छैन।

अस्थायी भवन पनि नबन्दै प्रदेश सभा सार्न हतार

स्थायी राजधानी तोकिएको देउखुरीमा पुरै संरचना नबनिकन प्रदेश सभा सार्न पनि हतार गरिएको छ। असारमा सक्ने भनिएको अस्थायी भवन पनि तयार नभई प्रदेश सभा बैठक देउखुरीमै बसाल्ने तयारी गरिएको छ। देउखुरीको राप्ती टेक्नीकल कलेजको पुरानो भवनमा जसो तसो प्रदेश सभाको बैठक बसाल्ने तयारी भएको हो।

प्रदेश पूर्वाधार प्राधीकरणका प्रमुख कार्याकारी अधिकृत धु्रव मजगैँयाले बैठक बस्ने नबस्ने बारे आफूले भन्न नसक्ने बताए । उनले बैठक बस्ने भएमा ठाउँको व्यवस्थापन भने गर्न सकिने जानकारी दिए । ‘डेढ सय जना अट्ने हल छ। त्यहाँ ८७ जना सांसद मज्जाले अट्न सक्नुहुन्छ। बैठक बस्ने भयो भने व्यवस्थापन हुन सक्छ।’ मजगैँयाले भने।

तर दाङका प्रदेश सभा सदस्य इन्द्रजित थारुले बजेट अधिवेसन देउखुरीमै बस्ने जानकारी दिए। त्यसको लागि सरसफाइ र सजावटको काम पनि छिट्टै सुरु हुने उनले बताए। ‘हिउँदे अधिवेसन बुटवलमै बस्छ। नीति कार्यक्रम र बजेटको लागि जेठको पहिलो हप्ताबाट बर्खे अधिवेसन सुरु हुनुपर्छ।’ उनले भने ‘त्यो अधिवेसन देउखुरीमै बस्छ। बैठकको तयारी र सजावटको काम छिट्टै सुरु हुन्छ।’

सांसद थारुले जेठबाट सुरु हुने बैठकको तयारीको लागि प्रदेश सभा सचिवालयको एउटा युनिट दाङमै रहने बताए। राप्ती टेक्नीकल कलेजको भवनमा प्रदेश सभा भवन र सचिवालय कक्ष रहने तथा मन्त्रालय लगायतका संरचना भने बुटवलमै रहने उनको भनाइ छ।

मन्त्रालयका संरचना एकातिर प्रदेशसभा अर्को तिर हुँदा सांसद तथा मन्त्रीहरुलाई ओहोर दोहोरको सास्ती हुने गर्दछ। लुम्बिनी प्रदेशका कांग्रेसका मुख्य सचेतक फखरुद्धिन खानले प्रदेश सभा र मन्त्रालय छुट्टा छुट्टै राखेर प्रदेश सरकारले खर्चको दुरुपयोग र दुख दिने काम गर्न लागेको बताए। ‘मुख्यमन्त्रीले प्रदेश सभामा सबै संरचना नबनेसम्म सबै संरचना बुटवलमै रहने भन्नुभएको थियो। अहिले फेरी अस्थायी संरचनामै प्रदेश सभा सार्न खोजिएको छ।’ उनले भने ‘अस्थायीबाट अस्थाइमा सार्दा हुने खर्च सबै दुरुपयोगक मात्र हो। त्यतीका रकम दुरुपयोगको जिम्मा प्रदेश सरकारले लिनुपर्छ।’

खानले मन्त्रालय एकातिर र प्रदेश सभा अर्को तिर गराएर अस्तव्यस्त पार्न खोजेको आरोप लगाए। ‘यसरी सांसद र मन्त्रीहरुलाई ओहोर दोहोर गर्दा ठूलो मात्रामा व्यक्तीगत र सरकारी रकम अनावश्यक रुपमा खर्च हुन्छ।’ उनले भने ‘यसले प्रदेशको व्यवस्थालाई नै अस्तव्यस्त पार्छ। त्यसैले संरचना बनाएर मात्र सबै संरचना सार्नुपर्छ।’

रुपन्देहीका अर्का प्रदेश सभा सदस्य तुल्सीप्रसाद चौधरीले प्रदेश सभा एकातिर र मन्त्रालय अर्को तिर हुँदा प्रदेशका संरचना नै भद्रगोल हुने उल्लेख गरे। ‘प्रदेश सभाले निर्णय गरिसकेको छ। स्थायी संरचना बनाएर सबै मन्त्रालय लैजानुस हामीलाई आपत्ती छैन।’ उनले भने ‘एकातिर प्रदेश सभा अर्को तर्फ मन्त्रालयहरु राखेर के भद्रगोल गर्न खोजेका हुन्। यस्तो भयो भने हामीलाई मान्य हुँदैन।’

बुटवलबाट देउखुरीको दुरी सय किलोमिटर भन्दा बढी छ। मन्त्री तथा कर्मचारीहरुको ओहोर दोहोरका कारण जाँदा आउँदा बाटोमै पाँच–छ घण्टा समय नोक्सान हुन्छ। त्यसले मन्त्रालयको कामकाज नै प्रभावित हुने सांसद चौधरीको भनाइ छ। उनले अस्थायीबाट फेरी पनि अस्थायी संरचनामै खर्च गरेर प्रदेश सभा सार्दा ठूलो रकम दुरुपयोग हुने उल्लेख गरे।

पाल्पाका प्रदेश सभा सदस्य पुरनमान बज्रचार्यले प्रदेश सभा र मन्त्रालयका संरचना टाढा हुँदा मन्त्रीहरु मात्र नभई सबैलाई सास्ती हुने बताए। ‘पाँच १० किलोमिटर सम्म फरक कुरा हो। त्यतीका दुरीकाे अन्तरमा संसद र मन्त्रालय राख्दा सबैलाई सास्ती हुन्छ।’ उनले भने ‘यदि यस्तो भएमा प्रदेश सभा बैठकमा पनि कुरा उठ्ला।’

 

 
 
  
 

You may also like