अब संसदबाटै नयाँ खेल शुरु हुन्छ : वरिष्ठ नेता खनाल

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले खब संसदमा नयाँ खेल शुरु हुने बताएका छन् ।प्रतिनिधिसभा पुनर्स्थापित भएपछिको दोस्रो वैठकमा सहभागी भएपछि वरिष्ठ नेता खनालले देशका सबै दल र राजनीतिज्ञले खेल खेल्ने ठाउँ संसद नै भएको भन्दै अब यहींबाट सबै कुरा अघि बढ्ने बताए ।

नेता खनालले अब संसदमा नयाँ खेल शुरु हुने दावी गर्दै भने, ‘अब संसदमा नयाँ खेल शुरु हुन्छ । नयाँ खेलको परिदृष्य अब तपाईंहरुले विस्तारै देख्नु हुन्छ’, उनले भने, ‘हामी त अब एमाले भइसकेका छौं तीन वर्षपछि । यो चाहिँ दुर्भाग्यको कुरा हो । एकीकृत भइसकेको पार्टीलाई फेरि विभाजित गरियो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अबको दुई वर्षसम्म जोगाउन आफूहरु सक्रिय हुने पनि बताएका छन् । ‘संसदको पुनर्स्थापना विशेष घटना हो । हामी अब विधिमा फर्किएका छौं । संविधानको मर्म र भावना अनुसार अघि बढ्नुको विकल्प छैन’, उनले भने ।

उनले अब सबै वामपन्थी शक्तिलाई एकै ठाउँ ल्याउने पनि बताए । ‘हामी तीन वर्षपछि यो ठाउँमा आइपुगेका छौं । एमाले सधैंभरी वामपन्थी एकताको पक्षमा छ’, उनले भने, ‘वामपन्थीहरुलाई एक बनाउनु पर्छ भन्ने पक्षमा छ । हामी आफ्ना मुद्दालाई अघि बढाउँछौं ।’

खनालले आफू नेकपा एमालेको वरिष्ठ नेता भएकाले अब अहिलेकै सरकार जोगाउन सक्रिय हुने पनि बताए । ‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यही सरकार दुई वर्ष जान्छ भन्छु म । सरकार जोगाउने दायित्व कुनै व्यक्तिको मात्रै होइन, पार्टीको हो’, खनालले थपे, ‘हामी अब यही सरकारलाई जोगाउन लाग्छौं । तीन वर्षपछि एमालेकै हैसियतमा फर्किदा बडा रमाइलो लागेको छ ।’

 
 
  
 

You may also like