पैसाको लोभमा श्रीमतीको हत्या

बुटवल। रुपन्देहीमा आर्थिक कारोबारको विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।जिल्लाको समरीमाई गाउँपालिका–५ की कुसुम लोधको हत्या आरोपमा प्रहरीले उनका श्रीमान शैलेसकुमार लोध र देवर राजेशकुमार लोधलाई पक्राउ गरेको हो । बीमा कारोबारका विषयमा झगडा पर्दा उनकै पति शैलेश र देवर राजेशले कुसुमको हत्या गरेका हुन् ।

कुसुमको दुई ठाउँमा बीमा गरिएको र बैंकमा रहेको ऋण तिर्ने विषयमा झगडा पर्दा हत्या भएको अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले जानकारी दिए । पक्राउ परेका दुवै जनाले घटना स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देहीमा आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले अर्का एक पुरुषलाई पक्राउ गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहकी २१ वर्षीय सम्झना चाईको आगो लगाइ हत्या गरेको आरोपमा उनका श्रीमान मुकेश चाईलाई प्रहरीले पक्राउ गरेको हो ।

गत पुस १ गते कालिदहस्थित आफ्नै घरको कोठामा सम्झना जलेको अवस्थामा मृत फेला परेकी थिइन् । मृतक सम्झनाका दाइ रामप्रसादले सम्झनालाई दाइजो कम ल्याएको भनी बेला–बेलामा यातना दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा मुकेशले हत्या गरेको पुष्टी भएको प्रहरीले जनाएको छ । कम दाइजो दिइएको बहानामा बन्द कोठाभित्र सम्झनामाथि आगो लगाई हत्या गरिएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like