आज अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरि मनाइदै

काठमाडौं । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विश्वव्यापी रुपमा मनाइँदैछ । महिलाको हकअधिकार सुनिश्चित गर्नका निमित्त यस दिनलाई विश्वव्यापी रुपमा मनाइँदै आइएको हो ।

हरेक वर्ष नारी दिवसको अवसरमा समयसापेक्षित नारा तय गर्ने संयुक्त राष्ट्र संघले यस वर्षको नारा ‘नेतृत्वमा महिलाः कोभिड १९ को दुनियामा समान भविष्यको प्राप्ति’ निर्धारण गरेको छ ।

त्यस्तै, सामाजिक सञ्जाल लगायत मञ्चमा ‘#Choosetochallenge'(ह्यासट्याग ‘चूज टु च्यालेन्ज’) अर्थात् ‘चुनौती दिने चाहना राख’मा आधारित रहेर बहस हुने, अनुभव आदनप्रदान हुने, संकल्प गरिने आदिजस्ता क्रियाकलाप भइरहेको छ ।

विभिन्न कार्यक्रमहरु आयोजना गरेर लैंगिक विभेद अन्त्य गर्दै महिलाको हकअधिकारको स्थापना गर्ने उद्देश्यले मनाइने यस दिनमा सामाजिक, आर्थिक, राजनीतिक, व्यवसायिक, सांस्कृतिक आदि क्षेत्रमा सफलता प्राप्त गरेका महिलाहरुको उपलब्धिको पनि सम्मान गरिन्छ ।

पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डमा यो दिवस मनाइएको थियो ।

सन् १९१४, मार्च ८ मा जर्मनीमा मनाइएको यस दिवसलाई अहिले विश्वभरि मार्च ८ कै दिन मनाइन्छ । महिलाको मतदान अधिकार सुनिश्चित गर्नका निमित्त उक्त दिनलाई ‘नारी दिवस’का रुपमा मनाइएको थियो । यसको ठीक चार वर्षपछि सन् १९१८ मा मात्रै जर्मनीका महिलाहरुले चुनावमा मतदान गर्ने अधिकारको लडाइमा विजय प्राप्त गरेका थिए ।

नेपालमा पनि यस दिनलाई विभिन्न कार्यक्रम, गोष्ठी, बैठक, अभियान सञ्चालन गरेर मनाइँदै आइएको छ ।

 
 
  
 

You may also like