मलाई प्रधानमन्त्री हुने चाहना छैन : देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।आज (शनिबार) बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तक विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका हुन् ।

‘म प्रधानमन्त्री हुने रेसमै छैन । म प्रधानमन्त्री हुनै चाहेको छैन’, उनले भने, ‘विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो । तर मलाई प्रधानमन्त्री हुनु पनि छैन । यी सबै कुरामा नलाग्नु होला ।’

केहि दिनअघिको एक कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीको जिम्मेवारी आइपरे पछि नहट्ने बताएका थिए । यस्तै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकोले कांग्रेस सडकमा प्रस्तुत नभएको पनि उनले दाबी गरे । उनले भने, ‘प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदमको अदालतमा विचाराधीन मुद्दा भएकाले सडकमा जानु हुँदैन, अदालतलाई प्रेसर गर्न, धम्क्याउन हुँदैन भन्ने हाम्रो मान्यता हो । यसकारण भोलि संसदीय व्यवस्था नै चल्दैन ।’

प्रमुख प्रतिपक्ष कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वासको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने भएको छ । नेकपा ओली र दाहाल–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ । व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो ।

नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने बताएका छन् । सभापति देउवालाई नेकपा दाहाल–नेपाललाई सहयोग गरेर आफू सरकार बाहिरै बस्नुपर्ने अधिकांश सांसदले सुझाव दिएका छन् ।

 
 
  
 

You may also like