राजीनामा नदिए प्रधानमन्त्रीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव दर्ता गर्न प्रचण्ड–नेपाल पक्षका ११५ सांसदको हस्ताक्षर तयार
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । आज (शुक्रबार) को बसेको प्रचण्ड–नेपाल लक्षको संसदीय दलको बैठकपछि प्रधानमन्त्रीले त्यो भन्दा अगाडि नै राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता हुने एक नेताले बताए ।

आजको वैठकमा आफ्नो पक्षका १११ जना सांसदले स–शरीर उपस्थित भएर हस्ताक्षर गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । आफ्नो पक्षमा ११५ सांसद रहेको र विभिन्न कारणबस् योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणी खनाल भने आज अनुपस्थित रहेको उनले जानकारी दिए ।

बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता पनि चयन गरेको छ । सिंहदरबारमा ज्येष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा केपी शर्मा ओलीलाई हटाउँदै संसदीय दलको नेता परिर्वतन गरेको हो ।

ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउछौं : प्रचण्ड
नेकपाको संसदीय दलको नेता चयन भएका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।
नेकपा संसदीय दलको नेतामा चयन भए लगत्तै पत्रकारहरुसँग कुरा गर्दै दाहालले ओलीले राजीनामा नदिए आउने दिन झनै असहज हुने उनले बताए ।

‘आउने दिन सहज बनाउने भए केपी ओलीले संसद् पुनः स्थापना भइसकेपछि राजीनामा दिनुपर्ने हो त्यति मात्रै नभएर ११५ जनाको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज हुन्छ नभए प्रक्रियामार्फत अघि बढ्छौं’, उनले भने ।

उनले अविश्वास प्रस्ताव ल्याउन ओलीले नै बाध्य पारेको पनि बताएका छन् । उनले भने, ‘अविश्वासको प्रस्ताव ल्याउन ओलीले नै बाध्य पार्नुभयो । संसद् विघटन गर्ने कदमलाई स्वेच्छाचारी भनेर सडकमा गएका दलहरु मिल्नु पर्ने हुन्छ ।’

 

 
 
  
 

You may also like