संसदलाई प्रचण्डको पत्र : ओलीलाई कारबाही गरिसक्यौं, उनको निर्णयलाई मान्यता नदिनू

काठमाडौं। प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेता र पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको संसद सचिवालयलाई जनाकारी गराएको छ ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रसहित संसद सचिवालय पुगेर नेकपा प्रचण्ड–नेपाल समूहका संसदीय दलका प्मुख सचेतक देवप्रसाद गुरुङ, सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दीनानाथ शर्मा, जीवनराम श्रेष्ठले काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेका हुन् ।

‘पार्टीको अन्तरिम विधान र संसदीय दलको विधान अनुसार ओलीलाई कारबाही गरिसकेका कारण उनका कुनै पनि काम कारबाहीलाई मान्यता नदिन आग्रह गर्‍यौं’, सांसद श्रेष्ठले भने ।
त्यस्तै नेकपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलका उपनेता सुवावा नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई गरिएको कारबाही बारे पनि संसद सचिवालयलाई जानकारी गराएको उनले बताए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको उल्लेख गरेका छन् । ‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’ पत्रमा भनिएको छ ।

उनले पार्टीका कुनै सदस्यलाई निश्कासनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्नसक्ने संसदीय दलको विधानसमेत स्मरण गराएका छन् । पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको भन्दै प्रचण्डले भनेका छन्, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

उनले संसदीय दलको नेताका नाममा प्रधानमन्त्री ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि काम कारबाही अनधिकृत भई मान्य नहुने बताएका छन् ।

 
 
  
 

You may also like