बुटवल । बुटवल उपमहानगरपालिकाले समुदायस्तरमा फागुन २३ गतेदेखि कोभिडविरुद्धको खोप सञ्चालन गर्दैछ ।त्यसअघि उपमहानगरका सबै १९ वटै वडामा जोखिमयुक्त समूहमा कोभिड एन्टिजेन परीक्षण सुरु हुँदैछ ।
महामारी नियन्त्रणमा पालिकाहरुमध्येमा मुलुकमै नमुना काम गरेको बुटवल उपमहानगरपालिकाले जनस्वास्थ्यको क्षेत्रमा अर्को व्यवस्थित कामको थालनी गरेको छ ।
जोखिमयुक्त खोप अघि समूहमा गरिने एन्टिजेन परीक्षण र फागुन २३ देखि समुदायमा सुरु गरिने खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिंदै उपमहानगरका प्रमुख शिवराज सुवेदीले सहज एवम् विश्वसनीय सेवाप्रदान गर्न आग्रह गरे ।
कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा बुटवलमा जनप्रतिनिधिसंगै स्वास्थ्यकर्मी र नागरिक स्तरबाट भएको समन्वय एवम् सहकार्यको प्रसंशा गर्दै उनले अब पनि यस्तै सहकार्यको खाँचो रहेको बताए ।
उपमहानगरका सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुमा खोप कार्यक्रम सञ्चालन हुनेछ । लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धार्थ बाल तथा महिला अस्पतालसमेत गरी १० स्थानमा उपमहानगरको खोप केन्द्र रहने उपप्रमुख गुमादेवी आचार्यले बताईन् ।
उपमहानगरले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्दको खोप लगाउने निणर्य गर्दै आवश्यक तयारी गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको हो ।