भाञ्जा अपहरण गरी दिदीलाई एक करोड फिरौती माग्ने मामा यसरी पक्राउ परे

by समतल अनलाइन

धनुषा। जनकपुरमा आफ्नै सात वर्षीय भाञ्जालाई अपहरण गरी एक करोड फिरौती मागेको आरोपमा पक्राउ परेका मामालाई प्रहरीले सार्वजनिक गरेको छ ।
महोत्तरीको पिपरा गाउँपालिका–७ दनौली घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–७ बस्दै आएका २० वर्षीय रामरतन भनिने लक्ष्मेश्वर कुमार दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज (आइतबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

धनुषाको नगइराइन नगरपालिका–६ स्थित लग्माबाट ७ वर्षीय बालक चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वरले अपहरण गरेका थिए । प्रहरीले बालकलाई शनिबार साँझ ८ बजे जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्धार गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए ।

शनिबार साँझ ७ बजे बालकको आमालाई फोन गरी अपहरणकारी मामाले उनीसँग एक करोड रुपैयाँ फिरौती मागेपछि प्रहरी खोजी कार्यमा जुटेको थियो । बालकलाई अपहरणमुक्त गरे लगतै मामा लक्ष्मेश्वरलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक राणभाटले बताएका छन् ।
उनका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाईसकिएको र घटनामा संलग्न अन्य दुइ जनालाई समेत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।

यसअघि आइतबार बिहान प्रदेश २ प्रहरी कार्यालय जनकपुरका डीआईजी धिरजप्रताप सिंहले बालकको अपहरणमा उनका बुबा रमेश दासको पनि संलग्नता भएको बताएका थिए । प्रहरीले बालकका बुबा रमेशलाई समेत पक्राउ गरी अनुसन्धन गरेको थियो ।

तर धनुषाका प्रहरी उपरीक्षक राणाभाटले अनुसन्धानपछि अपहरणमा बुबाको संलग्नता नदेखिएको बताए । मामा लक्ष्मेश्वरलाई पक्राउ गरेको बेला बुबा रमेश पनि त्यही भएकाले उनीमाथि अपहरणको शंका गरेको प्रहरीको भनाइ छ ।

 
 
  
 

You may also like