६ लाख घुससहित मालपोत प्रमुख र लेखापढी व्यवसायी होटलबाट पक्राउ

by समतल अनलाइन

बारा । मालपोत कार्यालय बारामा प्रमुख (नायब सुब्बा) मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल ६ लाख घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले कार्यालय प्रमुख खनाल र बडाललाई ६ लाख रुपैयाँ घुस रकमसहित शुक्रबार जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित जर्गा होटलबाट नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शनिबार प्रेस एक विज्ञप्ति जारी गर्दै खनाल र बडाललाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । अख्तियारका अनुसार खनाल र बडालले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भन्दै फुकुवा गराउने प्रक्रिया मिलाएबापत घुस रकम मागेका थिए ।

सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनीहरुलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

‘सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने र उक्त काम गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा पुगेका आयोगको टोलीले ६ लाख रुपैयाँ घुस रकमसहित उनीहरुलाई पक्राउ गरेको हो’, प्रवक्ता रिसालले भने । पक्राउ परेका दुवै जनामाथि थप अनुसनधान भइरहेको आयोगले जनाएको छ ।

 

 
 
  
 

You may also like