प्रचण्ड–नेपालको नेता–कार्यकर्तालाई निर्देशन : जुनसुकै बेला निर्णय गर्नुपर्ने हुन्छ, तयार रहनुस्

by समतल अनलाइन

काठमाडौं। प्रतिनिधिसभा विघटनविद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मुलुकको राजनीतिक परिस्थिति अत्यन्तै तरल रहेकाले आकस्मिक निर्णय लिनु पर्ने हुनसक्ने भन्दै तयारी अवस्थामा बस्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेकपाले पछिल्लो विकसित परिस्थितिको आँकलन गर्दै अघि बढ्न र सोही अनुसार रणनीति बनाउनुपर्ने भएकाले पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने निष्कर्षका साथ आज (शुक्रबार) केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाउनु परेको जनाएको हो ।

शुक्रबार आकस्मिक रुपमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकमा नेताहरुले पुस ५ पछि अहिलेसम्मका घट्नाक्रमबारे व्याख्या गर्दै अबको केही दिनसम्म हुने राजनीतिक घट्नाक्रमको विश्लेषण सुनाएका थिए ।

केन्द्रीय सदस्य निरज आचार्यले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा दुवै अध्यक्षले विश्लेषणसहित आगामी दिनमा चाल्नुपर्ने कदम र योजनाबारे जानकारी गराएको बताए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा प्रचण्डले आकस्मिक बैठक बस्नुपर्ने कारणबारे सदस्यहरुलाई ब्रिफिङ गरेका थिए ।

बैठकमा आफ्नो संक्षिप्त धारणा मात्रै राखेका प्रचण्डले बाँकी विश्लेषणको व्याख्या अर्का अध्यक्ष माधव नेपाललाई आग्रह गरेका थिए । त्यसपछि अर्का अध्यक्ष माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले बदलिँदो वर्तमान राजनीतिक अवस्था, सर्वोच्च अदालतको फैसला, निर्वाचन आयोगले निर्णय गर्न गरेको ढिलाइ र प्रधानमन्त्री केपी ओलीले अझै पनि अवस्था आफ्नो पक्षमा पार्न गरिरहेको षड्यन्त्र र सम्भावित कदमबारे विश्लेषण गरेका थिए ।

‘अहिलेको राजनीतिक परिस्थिति अत्यन्तै तरल छ । यो तरल अवस्थामा एक दिनमा ५ वटासम्म खबर आउँछन् । ती खबरहरु केही आधिकारिक पनि हुन्छन् त केही गलत पनि हुन्छन्,’

समसामयिक घट्नाहरुप्रति सङ्केत गर्दै अध्यक्ष नेपालले बैठकमा विश्लेषण गरेका थिए ।
‘कामचलाउ प्रधानमन्त्री केपी ओलीले साम, दाम, दण्ड, भेद चारवटै विधि अपनाइरहेका छन् । उनको यो नीति नेकपा नेता कार्यकर्ताका लागि मात्रै होइन, राज्यका हरेक अंग र निकायसँग यस्तै डिल गरिरहेका छन्,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘आज आन्दोलनको पक्षमा उभिएका मानिसहरु पनि भोलि ओली पक्षमा जाने र फेरि पर्सी यता हामीतिरै फर्कने अवस्था विद्यमान रहेको छ ।’

अध्यक्ष नेपालले ओलीले विभिन्न भ्रमहरु छरेर मानिसहरुलाई अल्मल्याइरहेको बताए । ‘यो ओलीको भ्रमका कारण हो । कसलाई के भनेर आफ्नो पक्षमा ल्याउने र कसलाई के भनेर त्रसित पार्न हो भन्नेमा ओली सिपालु रहेछन् । मैले पनि बल्ल थाहा पाएँ,’ अध्यक्ष नेपालले अनुभव सुनाए ।

उनले ओली पावरको ‘मिस युज’ गर्दै जाँदा मानिसहरुलाई भ्रममा पार्न पनि अभ्यस्त बनेको बताए । त्यसक्रममा नेता नेपालले ओली कुनै सीमाभित्र नबाँधिने व्यक्ति भएको टिप्पणी पनि गरे । ‘राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउन पहल गरेको भनेर ओलीले प्रचार गरे । हाम्रै नेतृत्वमा पनि भ्रम पैदा गर्ने कोसिस गरे, त्यो जारी नै छ । अनि धारे हात लगाउँदा लगाउँदै पनि अनेक किसिमका दूत हामीसँग वार्ता गर्न पठाइरहेका छन् । ओलीको गुलियोमा हामी भुल्नु हुँदैन’, अध्यक्ष नेपालको भनाइ थियो ।

बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले ओली पक्षसँग ४० प्रतिशत केन्द्रीय समितिको संख्या पनि नरहेको भन्दै उनलाई छुट्टै पार्टी बनाउन समेत कठिन रहेको धारणा राखेका थिए ।
‘हामी पार्टी विधानले गरेको व्यवस्था भन्दा बाहिर गएकै छैनौ । पार्टी विधानअनुसार बैठक बसेर ओलीलाई पहिला अध्यक्षबाट र पछि पार्टी सदस्यबाट निकालेको मात्रै हो । यो विधानसम्मत हामीले गरेको निर्णयलाई आयोगले मान्यता नदिने कुरै छैन,’ श्रेष्ठको भनाइ थियो ।

नेता श्रेष्ठले ओलीले संविधान र राजनीतिक प्रणाली नै सिध्याउने षड्यन्त्र गरेको भन्दै त्यसविरुद्ध संघर्ष गर्नुको विकल्प नभएकाले आन्दोलनलाई जारी राखिएको प्रस्ट पारेका थिए । उनले तत्काल सांगठानिक एकीकरणका बाँकी कामको टुंगो लगाउने गरी गृहकार्य भइरहको भन्दै त्यो काम अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।

 
 
  
 

You may also like