कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै, मानव साङ्लो बनाउने

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (शनिबार) देशभर प्रदर्शन गर्दैछ ।

कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार देशभर विरोध प्रर्दशन गर्न लागेको सह–महामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिएका छन् । ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्न लागेको डा.महतले बताएका छन् ।

नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले विरोध प्रर्दशन गर्नेछन् । शनिबार मध्यान्ह १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रदर्शन गरिने डा.महतले जानकारी दिएका छन् । काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गरिनेछ ।

विरोधका लागि कालो मास्क प्रयोग गरिने कांग्रेसको शुभेच्छुक संस्थाहरूले जनाएका छन् । कांग्रेसले प्रधानमन्त्री ओलीद्वारा संसद भङ्ग गरेपछि असंवैधानिक भनेर विरोध गर्दै आएको छ । कांग्रेसले निरन्तर प्रदर्शनहरू गर्दै आएको छ ।

कांग्रेसले संसद भङ्ग भएको मुद्दा सर्वोच्च अदालतमा रहेको भन्दै न्यायालयलाई प्रभावित बनाउने गरेर कुनै पनि गर्न नहुने जनाउँदै आएको छ । कांग्रेसले सर्वोच्च अदालतबाट आउने अन्तिम फैसलालाई स्वीकार गर्ने बताएको छ ।

 
 
  
 

You may also like