बुटवल। ग्रामीण पहिचानका रूपमा प्रयोगमा आएका घरेलु प्रयोजनका कैयन सामग्री हराउँदै गएकोमा बुढापाका चिन्तित हुन थालेका बेला कतिपय युवाहरु आफ्ना पुर्खाले बनाएका र प्रयोगमा ल्याएका सामानलाई खोजी खोजी संरक्षण, सम्बद्र्धन गर्ने काममा जुटेका छन् ।
युवाहरुले त्यस्ता सामग्रीको सूचि बनाएर संकलन गर्ने र संरक्षणका लागि अभियान चलाउने कामको थालनी गरेका छन् । रुपन्देहीको तिलोत्तमा शान्तिमार्गमा रहेको शान्ति युवा समूहले यो नौलो कामको थालनी गरेको छ ।
पुर्खाहरुले ढुंगा, माटो, काठ र जनावरका छालाबाट आफैले निर्माण गरेका र कैयौं पुस्ताले घरेलु प्रयोगमा ल्याएका पुराना सामग्रीहरुलाई संकलन गर्दै तिनको उपयोगिताका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन युवा समूहले विशेष प्रदर्शनीको समेत आयोजना गरेको छ । करिब ५० वटा त्यस्ता परम्परागत सामग्री राखेर शान्तिटोलमै शनिबार उक्त प्रदर्शनी गरिएको शान्ति युवा समूहका अध्यक्ष तथा युवा अगुवा किरण ज्ञवालीले जानकारी दिए ।
खासगरी तीन दशक अघिसम्म चलनचल्तीमा रहेका काठका, तामाका, पित्तलका, काँचका मानव निर्मित सामग्रीहरुका बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शन गरिएको समूहका अध्यक्ष ज्ञवालीको भनाइ छ । ठेकी, डालो, मान्द्रो, गुन्द्री, चौंठी, आरी, हत्तर, डाली, खैंजेडी, डोको, ढकिया, गुन्द्री, ठेकी, हर्पे, ओदान, खड्कुलो, हत्तर, खन्तुरो, कन्दुस, कन्तुर, मधुश, ढिंगी, कुरुवा, जाँतो, पानस, टुकी, सुकुल, फाँके, घैंटो, चुसेलीलगायतका परम्परागत सामग्रीहरुलाई जानकारी सहित प्रदर्शनीमा राखिएका छन् ।
पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामाग्री कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी संकलन गरेर टोलमै सार्वजनिक स्थानमा राखेर प्रदर्शनी गरिएको अध्यक्ष ज्ञवालीले बताए
‘बाबुबाजेले प्रयोग गरेका पुराना वस्तुको लोप हुन थालेको र नयाँ पुस्तालाई सो कुराको जानकारीसमेत नहुने भएकाले पहिलो चरणमा टोलस्तरमा प्रदर्शनी गरिएका र पछि स्थानीय तह, प्रदेश तहसंग सहकार्य गरेरै संग्रहालय बनाउने योजना राखिएको छ’, ज्ञवालीको भनाइ छ ।
प्रदर्शनीमा राखिएका ति सामग्रीहरु टोलसमुादयबाटै संकलन गरिएको अध्यक्ष ज्ञवालीले बताए । अहिलेको पुस्ताले यस्ता कुनैपनि सामग्रीको बारेमा जानकारी नपाएको र सामग्री पनि लोप हुने अवस्था आएकाले एकातिर युवा पुस्तामा जानकारी हुने र अर्कोतिर संरक्षणका लागि पनि ध्यान जाने भएकाले यसखालको सोंच आएको युवा अगुवा ज्ञवालीले दाबी गरे । करिब तीन दशक अगाडिसम्म चलनचल्तीमा आएका कैयन घरेलु सामग्री अहिले देख्न मुस्किल छ । पुर्खाले बनाएका त्यस्ता विभिन्न खालका सामग्रीहरु अहिले प्रविधिको विकाससंगै लगभग हराएका छन् । गाउँमा मेसिन जानुअघिसम्म अन्नपात ढिंकीमा कुट्ने र जाँतोमा पिंध्ने चलन थियो । विजुली बत्ती जानु अघिसम्म दियालो बाल्ने, पालामा तेल राखेर बत्ती बाल्ने चलन थियो ।
ढोकामा पनि अहिलेका जस्ता आधुनिक चुकुल हुन्थेनन् त्यहाँ ठोकामै काठ खोपेर आगुलो वा गरालो लगाइन्थ्यो । दुध दही राख्ने काठका भाँडा हुन्थे । यद्यपि अहिले पनि कतिपय ठाउँमा यस्ता काठका भाँडा अझै पाइन्छन् । यस्तै पानी भर्नका लागि माटाका भाँडा हुन्थे । पुर्खाहरुले काठ, माटो, ढुंगाबाट मेहनत गरेर घरेलु प्रयोजनका सामानहरु बनाउँथे, तिनैले कति पुस्ताको जीवन निर्वाह हुँदै आए¥ रेशुंगा आमा समूहका अध्यक्ष कमला ज्ञवाली भन्छिन–‘अहिले त ठेकी र आग्लो भनेको के हो भनेर सोध्ने भने पनि युवा पुस्ताले जान्दैनन् ।’ आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यी सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले विस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिन थालेको चन्देश्वर महादेव मन्दिरका अध्यक्ष भेषबहादुर बस्नेतले बताए । उनले युवाहरुले महत्वपूर्ण प्रदर्शनी गरेको भन्दै प्रशंसा पनि गरे । यस्ता सामग्रीलाई संग्रहालयमा राखेर भए पनि संरक्षण गर्न लाग्नु पर्ने युवा समूहको माग छ ।