संसद विघटनको विरोधमा आज प्रचण्ड–माधव पक्षले देशभर विरोध प्रदर्शन गर्दै उपत्यकाका आठ स्थानबाट जुलुस, प्रदर्शनीमार्गको बीच सडकमै मञ्च बनाइएपछि गाडीहरू ‘डाइभर्सन’

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले आज (मंगलबार) संसद विघटनको विरोधमा देशभर विरोध प्रदर्शन गर्दैछ । प्रचण्ड–माधव पक्षले काठमाडौं उपत्यकामा ५० हजार मान्छे उतार्ने दाबी गरेको छ ।

बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न आठ क्षेत्रबाट जुलुुस निस्किने नेताहरुले जानकारी दिएका छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस शुरु हुनेछन् ।
यस्तै रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनी मार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिएका छन् ।

यसैबीच नेकपाको प्रचण्ड–नेपाल पक्षले विरोध प्रदर्शनका लागि सडकको बीच भागमा नै मञ्च बनाएपछि आज (मंगलबार) बिहानैदेखि प्रदर्शनी मार्गमा गाडी डाइभर्सन गरिएको छ । प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

यस्तै प्रतिनिधि सभा भङ्ग भएसँगै भइरहेको विरोध प्रदर्शनका कारण उपत्यकाको सडक अस्तव्यस्त बन्न थालेका छन् । हिजो (सोमबार) कांग्रेसको प्रदर्शनका कारण उपत्यकाका धेरै ठाउँमा जाम बढेको थियो । आज (मङ्गलबार) पनि कार्यालय समय र दिउँसोको समयमा चाप बढ्न सक्ने भन्दै कामका लागि घरबाट निस्कँदा केही समय अगाडि नै निस्कन ट्राफिक प्रहरीको सुझाव छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला निर्वाचन आयोग पनि नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा छ ।

 
 
  
 

You may also like