सभामुख नगएपछि परिषद् बैठक स्थगित, पुनः साँझ ५ बजे बस्ने

by समतल अनलाइन

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि आज (मंगलबार) बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले पुनः साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगे पनि कोरम नपुगेको हो । प्रधानमन्त्रीको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रतिपक्ष दलको नेता, प्रधान न्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् ।

संवैधानिक परिषद्सम्बन्धी ऐनमा बैठक बस्न ६ सदस्यीय परिषद्का कम्तीमा पाँच जना उपस्थित हुनै पर्ने प्रावधान छ । उपसभामुख पद अहिले रिक्त रहेकाले बैठकका लागि अहिले कायम रहेका पाँचै जना अनिवार्य उपस्थित हुनै पर्ने अवस्था छ ।

यस्तोमा सभामुख सापकोटा नगएपछि बैठकमा कोरम नपुगेको हो । विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नभएका हुन् ।

‘परिषद्को बैठकका लागि आवश्यक समन्वयको अभाव भयो । पूर्व तयारी पुगेन र गृहकार्य पनि गरिएन भनेर सभामुख नजानु हुने भएको छ,’ सभामुखको सचिवालय स्रोतले मंगलबार बिहान भनेको थियो । संवैधानिक आयोगमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले एकलौटी रूपमा आफू निकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेकाले सभामुख साक्षी बस्न नजाने उनी निकटका व्यक्तिहरूले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक राखिएको हो । यसअघि आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा पनि गएका थिएनन् । उक्त बैठकमा सभामुख सापकोटा पनि अनुपस्थित थिए । यसैबीच प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आजै केहि बेरमा बस्ने गरी बोलाएका छन् ।

 
 
  
 

You may also like