शेयर बजारमा ठूलो पहिरो : लगानीकर्ताले एकै दिन गुमाए १ खर्ब ६५ अर्ब

by समतल अनलाइन

काठमाडौं । नेप्से परिसूचक ह्वात्तै १२३ दशमलव ३४ अंकले ओरालो लागी ३० लाख लगानीकर्ताको एकै दिन १ खर्ब ६५ अर्ब रुपैयाँ गुमेको छ ।

आइतबार बजारमा नेगेटिभ सर्किट लाग्दा सबैभन्दा बढी निर्जीवन बिमा समूहको परिसूचकमा गिरावट आएको छ । गत बिहीबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको हो ।

लगानीकर्ताले एक दिनमा १ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ गुमाउँदा सेयर ब्रोकरले भने कमिसनबाटै ३ करोड ५० लाख रुपैयाँ हाराहारी कमाए । नेप्सेमा एकाएक गिरावट आउनुमा राष्ट्र बैंकको मौद्रिक समीक्षा र अस्थिर नीति भएको भन्दै संघीय संसद्को अर्थसमितिले राष्ट्र बैंकका गभर्नरलाई बैठकमा बोलाएको छ ।

नेपाल राष्ट्रबैंकका गभर्नरलाई छलफलका लागि बोलाइएको संघीय संसद्अन्तर्गतको अर्थसमितिका सभापति कृष्ण दाहालले बताए । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका कारण सेयर बजारमा पहिरो गएपछि चासो देखाइएको हो ।

यही शुक्रबारसम्म सबै संसद् र नेपाल राष्ट्र बैंकलाई समेत बैठकमा डाकी बजार घटेको विषयमा छलफल हुन लागेको सभापतिले दाहालले जानकारी दिए । बिहान ११ बजेदेखि कारोबार सुरु भएको नेप्सेमा साढे २ बजेतिर कारोबार ६ प्रतिशतले गिरावट आउँदा नेगेटिभ सर्किट ब्रेक लागेको थियो । निर्धारित अवधिभन्दा ४७ मिनेटअगावै २ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भयो ।

आइतबार बजारमा रहेका सबै परिसूचक राताम्य हुँदा करिब साढे ३ घण्टामा ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १९७ वटा कम्पनीको ६१ हजार ८५६ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर कारोबार भएको हो । राजधानी दैनिकबाट

 
 
  
 

You may also like