पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

by समतल अनलाइन

झापा । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् ।

उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । १७ दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मिर्गौलामा समस्या थपिएको थियो ।

बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नभएको उनको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाई दिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किइन् ।

हाल निजी निवासमा पतिको किरिया बारिरहेकी उनको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्ने सुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् । ‘यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो’, पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै उनी भन्छिन्, ‘उहाँ (पति) ले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नु भएको थियो ।’

रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको जानकारी दिए । रेनुकाका पति स्व केशव नेपाल कुनै नेता तथा पदीय ओहोदामा रहेका व्यक्ति होइन । उनी विर्तामोडस्थित आफ्नै घरमा सानो पसल चलाउँथे । रेनुका समेत सामान्य गृहिणी हुन् । स्व. केशव नेपालका दुई छोरा र दुई छोरी छन् । रासस

 
 
  
 

You may also like