मोडर्नाले माग्यो कोरोना खोप प्रयोगको अनुमति

by समतल अनलाइन

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप विकास गरेको अमेरिकी कम्पनी मोडर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि अनुमति माग गरेको छ ।

आफूले विकास गरेको खोपको क्लिनिकल परीक्षण ९४ प्रतिशत प्रभावकारी रहेको पुष्टि भएको भन्दै मोडर्नाले सोमबार खोप प्रयोगको अनुमति मागेको हो ।

यसअघि फाइजरले खोप प्रयोगको अनुमति माग्दै अमेरिकामा आवेदन दिइसकेको छ । मोडर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए) सँग आपत्कालीन प्रयोगका लागि स्वीकृति (ईयूए) को माग गरेको र यसलाई युरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर सशर्त बजारीकरणका लागि अनुमति माग्ने बताइएको छ ।

बेलायतको नियमनकारी निकायले फाइजर तथा अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेका दुइटा खोप प्रयोगका लागि अनुमति दिने–नदिनेबारे तथ्यांकहरूको विश्लेषण गरिरहेको जनाइएको छ ।

बीबीसीका अनुसार मोडर्नाले बेलायतमा आफ्नो खोप प्रयोगका लागि चाँडै नै अनुमति पाउने आशा व्यक्त गरेको छ । मोडर्नाले ३० हजार जनामा खोपको अन्तिम चरणको परीक्षण गरिएको र गम्भीर प्रकारका असरहरू नदेखिएको जनाएको छ ।

बेलायतले हालसम्म मोडर्नाको ७० लाख डोज, फाइजर तथा बायोएनटेकको ४ करोड तथा अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयको १० करोड डोज खोप लिने सम्झौता गरिसकेको छ । सरकारले ७ विभिन्न कम्पनीका कुल ३५ करोड ७० लाख डोज खोप सुरक्षित गरिसकेको छ । एजेन्सी

 
 
  
 

You may also like