बुटवलको शिवनगर वनमा आधुनिक गौसंरक्षण केन्द्र बनाउँदै उपमहानगर

by समतल अनलाइन

–वनमारा र फोहोरले ढाकिने वनलाई सफा गरेर पर्यावरणीय पार्क तथा धार्मिक पर्यटनका साथै छाडा चौपायको व्यवस्थापन हुने                              बुटवल। एक वन बहुपोखरीको अवधारणा बनाएर कार्यान्वयनसमेत गरिरहेको बुटवल उपमहानगरपालिकाले वनमाराको झाडी र विशाक्त फोहोरले ढाकिँदै गएका वनलाई संरक्षण एवम् व्यवस्थित गर्दै नमुना बनाउने लक्ष्य लिएको छ ।
बुटवलको शिवनगर वनमा पर्यावरणीय पार्क तथा धार्मिक पर्यटन केन्द्रको एउटा गन्तव्य स्थल बनाउने पहल सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले शिवनगर सामुदायिक वनसंग सहकार्य गर्दै वनमा पर्यापर्यटन र धार्मिक पर्यटन स्थलसहितको उद्यान बनाउन लागेको हो ।
वनमा गौसंरक्षण केन्द्रका साथै पर्यावरणीय उद्यान निर्माण गरिने छ । वनका उपभोक्ताहरुसंगको छलफल र त्यसक्षेत्रका सरोकारवालाहरुको उपस्थितिमै उपमहानगरले कार्ययोजना बनाएर सुझाव संकलन गरेको छ ।
बुटवलमा विकराल जस्तो बन्दै गएको छाडा चौपायाको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने र सहर नजिकैको वनको शौन्दर्यतासमेत बढाउने लक्ष्यका साथ उपमहानगरपालिकाले यस्तो योजना बनाएको हो ।
शहरको छेउँमै रहेको वनलाई संरक्षण र थप व्यवस्थित गर्दै अध्यय्न स्थलका रुपमा विकास गर्ने लक्ष्यसहित नयाँ अवधारणा बनाइएको र त्यसमा सबैको सहकार्यको खाँचो रहेको उपमहानगरका प्रमु्ख शिवराज सुवेदीको भनाइ छ ।
बुटवलको वडा नं. ७, ८, ९ र ११ वडामा फैलिएको शिवनगर सामुदायिक वनलाई अझ व्यवस्थित गर्दै पर्यापर्यटन र धार्मिक पर्यटनका रुपमा विकास गर्ने लक्ष्यका साथ योजना बनाइएको प्रमुख सुवेदीले बताउनुभयो ।
यसका लागि उपमहानगरपालिकाले वन उपभोक्ता समूह देखि वडाका राजनीतिक दलका प्रतिनिधि, प्राविधिक, वातावरणविद् नागरिक समाज, अधिकारकर्मीदेखि अगुवाहरुसंग सहकार्य गर्नेगरि नयाँ योजना बनाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १५ मा भएको स्थानीय स्तरमा सेवा प्रवाह सम्बन्धी कार्य गर्दा आफ्नो क्षेत्रभित्रका सामुदायिक संघसस्था परिचालन गर्न सक्नेगरि भएको कानुनी व्यवस्था समेतको आधारमा शिवनगर वनलाई गौसंरक्षण केन्द्रसंगै पर्यावरणीय उद्यानका रुपमा व्यवस्थित गर्न लागिएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।
बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका सडकमा आश्रित छाडा पशु चौपायाहरुको (गाई,गोरु, बाच्छा,बाच्छी) व्यवस्थापनको लागि प्रारम्भिक गौसंरक्षण केन्द्र स्थापना र सञ्चालन सम्बन्धमा उपमहानगर र सामुदायिक वनका बीचमा ऐतिहासिक सम्झौतासमेत भइसकेको छ ।
स्थानीय समुदाय, उपभोक्ता, राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरु तथा वातावरणविद् समेतको सरोकार समेट्दै योजना प्रस्ताव गरिएको उपमहानगरपालिकाका कार्यपालिका सदस्य एवम् वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक नारायणप्रसाद पुनले बताउनुभयो ।
बुटवल बजारमा अस्तव्यस्त रहेको छाडा चौपाया व्यवस्थापन गर्नको लािग सामुदायिक वनले जग्गा उपलब्ध गराउने र बुटवल उपमहानगरपालिकाले त्यसको व्यवस्थापन गर्ने गरि हालै बुटवल उपनगरपालिका र वनको तर्फबाट सहमति पत्रमा हस्ताक्षर भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
उपमहानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शर्मा र वनका तर्फबाट अध्यक्ष नारायणबहादुर घिमिरेले सम्झौतापत्रमा हस्ताक्षरण गर्नुभएको छ । त्यसक्रममा प्रमुख सुवेदी, उपप्रमुख गमादेवी आचार्य, वडा नं. ७ का राजनीतिक दलका प्रतिनिधिहरु, वनका उपभोक्ता समितिका पदाधिकारी तथा अगुवा, उपमहानगरका विभिन्न महाशाखा तथा शाखाका प्रमुखहरु उपपिस्थत रहेका थिए ।
आकर्षक गौरसंक्षण केन्द्र बन्ने
अहिले योजनामा प्रस्ताव गरिएका कामका लागि शिवनगर सामुदायिक वन क्षेत्रको करिव ४÷५ कट्ठा जग्गामा गौसंरक्षण केन्द्र अर्थात् कान्जी हाउस बनाइने छ । त्यसको आवश्यक व्यबस्थापन नगरपालिकाले गर्नेछ ।
गौसंरक्षण केन्द्र तथा उद्यानको संरक्षण एवम् रेखदेखका काम सामुदायिक वन उपभोक्ता समितिले गर्ने सहमति भएको सामुदायिक वनका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । वनमा वनस्पतीको संरक्षण देखि जनावरको उचित संरक्षण गर्दै पर्यापर्यटन र धार्मिक पर्यटन स्थलका रुपमा विकास हुने उहाँको दाबी छ ।
संरक्षण केन्द्रमा पु¥याइएका गाई गोरुहरुको अभिलेख राखिने भएको छ । किसानले पालेका र पाल्न नसक्ने भएमा त्यस्ता गाईलाईसमेत आवश्यक परेको खण्डमा मापदण्ड तय गरेर संरक्षण केन्द्रमा राख्नेगरि तयारी भइरहेको छ ।
अनुत्पादक झाडी फाँडेर घाँस रोपिने
अधिकांश वनक्षेत्रहरु फोहोर फाल्ने र वनमाराले ढाकिएको अवस्थामा छन् । बुटवल सहरको बीचमै रहेको शिवनगर सामुदायिक वनलाई भने अब फोहोर फाल्ने र वनमाराले ढाकिएको नभई व्यवस्थित पर्यावरणीय वनका रुपमा विकास गर्न लागिएको छ ।
बुटवल उपमहानगर र वनका बीचमा भएको सम्झौता अनुसार गौरसंरक्षण केन्द्रमा राखिने पशुको आहारका लागि चाहिने आवश्यक घाँस वनमै उमारिने छ । वन क्षेत्रमा रहेको झाडी र अनुत्पादक बुट्यानलाई सफा गरेर त्यहीँ विभिन्न प्रजातिका घाँस रोपिने छ । विरुवा रोप्ने काम उपमहानगरले गर्ने छ भने ती घाँसका विरुवाको संरक्षणसमेत वनले नै गर्ने व्यवस्था मिलाइएको उपमहानगरका सरसफाई शाखा प्रमुख टोपलाल शर्माले बताउनुभयो ।
साथै कान्जी हाउस निर्माण भएपछि नगर क्षेत्र भित्रका पशुपालक किसानले आफ्ना गाईवस्तु संरक्षण केन्द्रमा बुझाउन ल्याएमा निश्चित व्यवस्थापन शुल्क लिई ति चौपायाको पनि जिम्मा लिने गरि संरक्षण केन्द्रको योजना बनाइएको छ ।

 
 
  
 

You may also like