धादिङ ।कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् ।नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । ८३ वर्षीय श्रेष्ठको उपचारका क्रममा काठमाडौंको अल्का अस्पतालमा मृत्यु भएको हो ।
निमोनिया र दमको समस्याबाट पीडित श्रेष्ठका दुई छोरा र चार छोरी छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष थिए ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो ।
लामो समयदेखि युवा राजनीतिमा संलग्न लोहनी पूर्वमाओवादी केन्द्र निकट वाइसीएल नेपालका केन्द्रीय सदस्यसमेत बनेका थिए ।
यसैगरी तत्कालीन बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकालको पनि कोरोनाले मृत्यु भएको छ ।
मृत्युपछि परिवारका निश्चित केही व्यक्तिले उनको अन्त्यष्टि गरेका छन् । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो ।