बुटवल उप-महानगर पालिकाले प्रदेश सरकारसँग आग्रह गर्यो भेन्टिलेटर र आइसियू बेड थप गर्न

by समतल अनलाइन

उपमहानगरमा स्वास्थ्य जन्य बाहेकका काम बन्द
बुटवल। बुटवल उपमहानगरपालिकाले भेन्टिलेटर र आइसियूका बेड थप गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ । जुनसुकै उमेर समूहको संक्रमितलाई पनि आइसियू र भेन्टिलेटर आवश्यक परेका बेला उपमहानगरपालिकाले यस्तो आग्रह गरेको हो ।

उपमहानगरको ६८ औं कार्यपालिका बैठक बसेर जनस्वास्थ्यमा थप संवेदनशील बन्न प्रदेश सरकारलाई आग्रह गर्दै सहकार्य र समन्वयका लागि हरदम तत्पर रहेको निर्णय गरेको छ ।

उपमहानगरपालिकाका कर्मचारी नायव सुब्बा नारायण ज्ञवालीको आइसियू बेड अभावका कारण कोरोना संक्रमणबाट शनिबार मृत्यु भएपछि नगरपालिकाले कम्तीमा २५ बेड थप गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
उपमहानगरपालिकाले आइसियू र भेन्टिलेटर बेड थपका लागि मापदण्ड पुग्ने नगरभित्रका जुनसुकै भवन समेत उपलब्ध गराउन तयार रहेको बताउदै प्रमुख सुवेदीले आवश्यक जनशक्ति र बजेट व्यवस्थापनमा सहजीकरण गर्ने स्पष्ट पारे । ।
उपमहानगरपालिले महामारी सुरु हुने बेलामा गत चैतमै बुटवल–१० धागो कारखानामा २४ घण्टामै ५० वेडका कोरोना विशेष अस्पताल र धागो कारखानामै लुम्बिनी प्रादेशिक अस्पताल र विभिन्न संघ संस्थाको सहकार्यमा आइसियू र भेन्टिलेटर सहितका कोरोना विशेष अस्पताल निर्माण गरेको थियो ।

अहिले कोरोना विशेष अस्पताल र प्रादेशिक अस्पतालमा आइसियू र भेन्टिलेटरको चरम अभाव छ । संक्रमण तीब्र रुपमा फैलिएपछि निजी मेडिकल कलेजलाई पनि कोरोना अस्पतालमा रुपान्तरण गर्न समुदाय स्तरबाट माग आएको छ ।
उपमहानगरका कर्मचारीको कोरोना संक्रमण भएर समयमै भेन्टिलेटर नपाउँदा निधन भएको समाचार बाहिरिएपछि बुटवल लगायतका क्षेत्रमा चिन्ता र त्रास बढेको छ ।
लक्षण नदेखिएका संक्रमित एक्कासी सिथिल हुने र स्वासप्रश्वासमा समस्या आएर तत्कालै भेन्टिलेटरको साहारामा जानुपर्ने अवस्था रहेको चिकित्सकहरुले बताएका छन । महामारीमा यो अर्को चरणको खतराको अवस्था हो ।

उपमहानगरमा स्वास्थ्य जन्य बाहेकका काम बन्द

बुटवल वडा नम्बर ८ को कार्यालयमा कार्यरत नायव सुब्बा नारायण ज्ञवालीको कोरोना संक्रमणबाट निधन भएको छ । ४९ वर्षीय ज्ञवाली संक्रमण भएर घरमै आइसोलेसन बसेका थिए । स्वाश्सप्रश्वासमा समस्या देखिएपछि अस्पताल पु¥याउदा भेन्टिलेटर नपाएपछि उनको निधन भएको थियो ।

उपमहानगरपालिकाको कार्यालय परिसरमा आइतबार बिहान शोक मनाउदै श्रद्धाञ्जली सभा गरिएको थियो । उपमहानगरपालिको सोमबारदेखि अत्यावश्यक काम बाहेर अन्य सेवा बन्द गर्ने निर्णय समेत गरेको छ । प्रमुख सुवेदीले उपमहानगरका स्वास्थ्यकर्मीलाई जनस्वास्थ्यको विषयमा जिम्मेवार बन्न आग्रह गर्दै सुरक्षा सावधानी अपनाएर सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।

कर्मचारी एशोसिएसन उपमहानगर कमिटीको आयोजनामा गरिएको शोकसभामा दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रमुख सुवेदीले जनस्वास्थको विषयमा आफूहरु संवेदनशील रहेको बताए । सो अवसवरमा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा, प्रवक्ता रामप्रसाद रेग्मी, कर्मचारी एशोसिएसनका अध्यक्ष ठगीश्वर पोखरेल, तथा महाशाखा प्रमुख र कर्मचारीहरुले स्वा. ज्ञवालीको तश्विरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

 
 
  
 

You may also like