मोरङ। मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।मृतक एक महिला र दुई पुरूष छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमित पुरुषको बुधबार राति र आज बिहान मृत्यु भएको छ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरूष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष छन्।असोज २१ गते रिपोर्ट पोजिटिभ देखिएका विराटनगरका पुरूषको आज बिहान ३:३० बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। ती पुरूषमा सुगरको पनि समस्या थियो ।
यस्तै गत सोमबार कोरोना पुष्टि भएका धरानका पुरूषको पनि मृत्यु भएको छ । उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको बस्नेतले बताए । ती पुरूषमा सुगर र उच्च रक्तचापको समस्या रहेको उनले बताए ।
विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको पनि मृत्यु भएको छ ।
उनको बुधबार साँझ ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । महिलामा मुटु सम्बन्धी पूरानै समस्या रहेको बताइएको छ ।