बुटवलमा गुणस्तरीय पेट्रोलियम पदार्थ बिक्री

by समतल अनलाइन

बुटवल । बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, नेपाल आयल निगम, नेपाल प्रहरी र नेपाल पत्रकार महासंघका प्रतिनिधिसहितको टोलीले आज गरेको पेट्रोल पम्पको अनुगमनका क्रममा पेट्रोलियम पदार्थको गुणस्तर तथा नाप तौल ठीक रहेको पाइएको हो ।

टोलीले आज बुटवल नेपालगञ्ज रोडमा रहेको शाह डिजर सेन्टर, बुटवल १३ जीतगढीस्थित गैरे पेट्रोल पम्प र एमएस पेट्रोल पम्पको अनुगमन गरेको हो । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुन सक्ने कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्रीवितरण रोक्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयसहित सरोकार निकायले बजार अनुगमनलाई निरन्तरता दिएको जिप्रकाका अधिकृत झविलाल भट्टराईले जानकारी दिए ।

बुटवलका तीन पेट्रोल पम्पमा आज पेट्रोलियम पदार्थको गुणस्तर जाँच गर्दा ठीक भएको पाइए पनि सुरक्षा मापदण्ड भने कमजोर भएको पाइएकाले सुधार गर्न निर्देशन दिइएको छ । अधिकृत भट्टराईका अनुसार यस क्षेत्रका अधिकांश पेट्रोल पम्पमा शौचालयको व्यवस्था भए पनि व्यवस्थित नभएको पाइएको छ । पम्पमा लैङ्गिकमैत्री र अपाङ्गतामैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए ।

अनुगमन गरिएका सबै पम्पमा डिजल र पेट्रोलको नाप तौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक बालकृष्ण रायले बताए । डिजल र पेट्रोलको गुणस्तर ठीक भए पनि पेट्रोल पम्प भने अझै व्यवस्थित गर्न जरुरी रहेको उनको भनाइ छ । गुणस्तर कार्यालयका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति पाँच लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यसभन्दा कम भएमा ठगी गरेको ठहरिने प्रमुख पोखरेलले बताए । पेट्राल पम्पको गुणस्तर सही भए पनि अधिकांशमा सुरक्षा उपकरण भने पूरा नभएको पाइएको आयल निगमका वरिष्ठ सहायक सुवास काफ्लेले बताए ।

अनुगमन टोलीले सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने पेट्रोल पम्पमा विपद् वा आगलागीका घटनाबाट बच्न प्रयोग हुने सुरक्षा उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
चाडपर्वमा हुन सक्ने कालोबजारी, महँगी र मिलावट नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिइने उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यमबहादुर थापाले बताए अनुगमन टोलीले कोभिड –१९ को महामारीलाई ध्यानमा राख्दै सुरक्षा मापदण्ड अपनाएर सेवा प्रदान गर्न निर्देशन दिएको छ । यसअघि पनि अनुगमन टोलीले जिल्लाका विभिन्न मिठाइ पसल र होटलको अनुगमन गरेको थियो ।

 
 
  
 

You may also like