अढाई बर्षपछि प्रदेश ५ को स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी

by समतल अनलाइन

बुटवल । अढाई बर्ष अगाडि संरचित प्रदेश ५ ले अन्ततः स्थायी राजधानी र नाम पाएको छ । मंगलबार अस्थायी राजधानी बुटवलमा बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम ‘लुम्बिनी’ र राजधानी राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिका भित्रको राप्ती उपत्यकाको देउखुरी पारित गरिएको हो ।

प्रदेशको राजधानी दाङ्गको देउखुरीलाई बनाउने र नाम लुम्बिनी प्रदेश राख्ने निर्णय गर्दै यससम्बन्धी प्रस्ताव प्रदेश सरकारका तर्फबाट गत शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेश सभामा पेश गरेका थिए ।

उक्त प्रस्ताव माथी सर्वसहमती जुट्न नसकेपछि मंगलबारको प्रदेश सभा बैठकमा भएको मतदानमा प्रस्तावका पक्षमा दुई तिहाई भन्दा धेरै बहुमत परेपछि प्रदेश ५ ले नाम र राजधानी पाएको छ ।८२ जना सांसदले मतदान गरेका मध्ये प्रस्तावित राजधानीको पक्षमा ६९ र विपक्षमा १३ जनाले मत हालेका थिए । नामाकरणको सम्बन्धमा भएको मतदानमा ८३ जनाको मत परेको थियो । तिमध्ये ‘लुम्बिनी’ को पक्षमा ७९ जना र विपक्षमा ४ जनाले मत हालेका थिए ।

प्रदेश सभाका कुल ८७ जना सांसद मध्ये प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसद संशोधन प्रस्तावको पक्षमा थिए । नेपाली कांग्रेसका सांसद सुरेन्द्र हमाल उपस्थित भएनन् ।

मत गणनाको संख्या सुनाउँदैं सभामूख पूर्ण बहादुर घर्तीले राजधानी र नामाकरणका सम्बन्धमा सरकारको प्रस्ताव पारित भएको जानकारी दिदैं प्रदेशको राजधानी दाङको राप्ती उपत्यकाको देउखुरी र प्रदेशको नाम ‘लुम्बिनी’ कायम भएको घोषणा गरे ।
प्रस्ताव पारित भएपछि प्रदेश सभाबाट बाहिरिदैं प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलले राप्ती उपत्यकालाई प्रदेशको स्थायी राजधानीको रुपमा कायम गर्न सफल भएको प्रतिक्रिया दिए ।

‘हाम्रो प्रदेशको संगमस्थलका रुपमा रहेको ठाउँ प्रदेशको स्थायी राजधानीको रुपमा स्थापीत भएको छ । ६ जिल्लाको लुम्बिनीको पहिचानलाई १२ जिल्लाको लुम्बिनी प्रदेशको रुपमा स्थापीत गरेका छौं ।’ उनले भने–‘हिजोसम्म प्रदेश ५ भनेर चिनिन्थ्यौं । आजदेखि हामी लुम्बिनी बासी भएका छौं । लुम्बिनी वासी सबैलाई हार्दिक बधाई भन्न चाहन्छु ।’

प्रदेश सभामा गत शुक्रबार सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले राजधानी र नामाकरणका सम्बन्धमा प्रस्ताव पेश गर्नासाथै यो विषयले सत्तारुढ र प्रतिपक्ष दलमा राजनैतिक सगर्मी एकाएक बढेको थियो ।राजधानीका रुपमा राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिका भित्रको राप्ती उपत्यकालाई प्रस्ताव गरेपछि रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि र उद्योगी तथा व्यवसायीहरु असन्तुष्ट थिए । प्रस्ताव माथि छलफल गर्न सोमबार बोलाइएको प्रदेश सभाको बैठकमा एकातिर छलफल, अर्का तिर संसद भित्रै तोडफोड चलिरह्यो ।

त्यसैले मंगलबार भएको मतदानमा सत्तापक्ष नेकपाले आफ्ना सांसदहरुलाई प्रस्तावको पक्षमा र प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका थिए । ह्वीप जारी गरेको भएपनि नेपाली कांग्रेसका ५ जनाा सांसदले प्रस्तावका पक्षमा मतदान गरेका छन् । तर, सत्तारुढ नेकपाका सांसदले ह्वीपको परिपालना गर्दै सबैले प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
मतविभाजनमा तीन जना सांसदले मतदान बहिस्कार गरेका छन् । सरकारले ल्याएको प्रस्तावको चर्को विरोध गरिरहेका जसपा प्रमुख सचेतक सन्तोष पाण्डे, सजपाकी सांसद कल्पना पाण्डे र राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले मतदान नै गरेनन् । राजधानीको प्रस्तावमा मत बह्रिस्कार गरेका यी तीन सांसद रुपन्देही, अर्घाखाँची र प्युठानबाट निर्वाचित प्रदेश सभा सांसद हुन् ।

यसअघि बैठकमा कांग्रेसकी सांसद रमा अर्याल, कांग्रेसकै पुष्पा थरुनी र जनता समाजवादी पार्टी(जसपा) का पुरमति ढेगा र सहसराम यादवले सरकारले पेश गरेको नामाकरण र राजधानी सम्बन्धी प्रस्तावमा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
संशोधन प्रस्तावमा कांग्रेसका रमा अर्यालले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनु पर्ने उल्लेख गरेकी थिइन् । त्यस्तै पुष्पा थरुनीले अस्थायी राजधानीकै रुपमा रहेको रुपन्देहीलाई स्थायी बनाउनपर्ने उल्लेख गरेकि थिइन् ।

  • ‘ब्यक्तिगत स्वार्थमा राजधानी’

प्रदेशको राजधानी र नामाकरणका सम्बन्धमा प्रदेश सरकारले पेश गरेको प्रस्तावमाथि मतविभाजन हुनुअघि प्रदेश सभामा छलफल गर्दै प्रतिपक्ष दलका सांसदहरुले मुख्यमन्त्रीले व्यक्तिगत स्वार्थमा राप्ती उपत्यकालाई राजधानी प्रस्ताव गरेको बताएका छन् ।
विषेश समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले व्यक्तिगत स्वार्थमा ल्याइएको प्रस्ताव निशेधको राजनीति गर्दै धरपकडको शैलिमा पारित गर्न लागिएको आरोप लगाए । उनले लोकतान्त्रीक विधि र प्रक्रिया मिचेर सरकारले सहमतिको बाटो नरोजी दुई तिहाईको दम्भ प्रदर्शन गरेको आरोप लगाए ।

‘विपक्षी सानो होस् या ठूलो, विपक्षीको सधैं सम्मान गर्नु पर्छ । दम्भ देखाउने काम कसैले नगरोस् ।’ उनले भने ।तत्कालीन नेपाली कांग्रेसले दिर्घकालीन प्रभावहरुको आंकलन गर्दै अस्थायी मुकाम तोकेको बताउँदै सरकारलाई राजधानीको विषयमा ‘फास्ट ट्रयाक’बाट नभई गम्भिर संवादबाट मात्रै पारित गर्न आग्रह गरे । संसदीय दलका नेता कनौडियाले आधारभूत आवश्यकतासँग जुधिरहेको प्रदेशको अर्थतन्त्रले नयाँ राजधानीका लागि संरचनाहरु बनाउन नसक्ने भएकाले सरकारको प्रस्ताव औचित्यहिन भएको तर्क गरेका थिए ।

‘अर्थतन्त्र कोरोनाको महामारीले आक्रान्त भइरहेको छ । यतीबेला जीनव रक्षा गर्ने कि राजधानी बनाउने ?’ उनले भने–‘यो विषयमा गम्भिरता पुर्वक निर्णय गरौं । राजधानीलाई कसैको रहरको विषय नबनाऔं ।’
सांसद कल्पना पाण्डेले राजधानी प्रस्ताव गर्दा सरकारले प्रदेश सभाको सक्षमतालाई अबमुल्यन गरेको आरोप लगाइन् । प्रदेशका सांसदहरुसँग छलफल नै नगरी नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दहालको सहमतीमा सरकारले प्रस्ताव पारित गर्नुले प्रदेश सभालाई कमजोर पारेको तर्क गरिन् । ‘प्रदेश यती कमजोर किन ? प्रस्तावले हामी प्रदेश सभा सदस्यको अपमान भएको अनुभुती गराएको छ ।’ उनले भनिन् ।

त्यस्तै जसपा सांसद सन्तोष कुमार पाण्डेले कोरोना महामारीको समयमा सरकारले हठात् राजधानीको प्रस्ताव गरेको र प्रस्तावित राजधानीको औचित्य पुष्टि गर्न नसकेको आरोप लगाए ।
संसदमा विषेश समय लिदैं मुख्यमन्त्री पोखरेलले प्रस्तावित राजधानीले प्रदेशको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने बताए । भालुवाङ क्षेत्रले मगर सभ्यता, थारु सभ्यता र मधेशी समूदायको ऐतिहासिक थलोलाई जोड्ने भएकाले राजधानीले प्रदेशको चरित्रलाई प्रतिनित्रित्व गर्ने उनको तर्क थियो ।

‘प्रस्तावित राजधानी प्रदेशकौ सबैभन्दा ठूलो नदि रााप्तीको सभ्यता भएको ठाउँ हो । यो क्षेत्रले प्रदेशको सबै क्षेत्रको आञ्चलीक मनोविज्ञान जोड्ने काम गरेको छ ।’ उनले भने ।भालुवाङलाई राजधानी बनाउँदैं गर्दा लुम्बिनी क्षेत्र र कपिलवस्तु क्षेत्रलाई पर्यटकिय राजधानी र बुटवल–भैरहवा कोरिडोरलाई वित्तिय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता समेत जनाए ।

  • ह्वीपको अवज्ञा गर्दै मतदान

प्रदेशको राजधानीका संबन्धमा सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेपछि ५ जना सांसदहरुले प्रस्तावको पक्षमा नै मतदान गरेका छन् । दाङ, बाँके र बर्दियाका नेपाली कांग्रेसका सांसदहरुले राप्ती उपत्यकालाई राजधानी बनाउने सरकारको प्रस्तावकै पक्षमा मतदान गरेका हुन् ।
दाङका सांसद डिल्ली चौधरी, बाँकेका सांसद मोहम्मद याकुव अन्सारी, बर्दियाका सांसद भूवनेश्वर चौधरी, शंकर गिरी र अर्जुन श्रेष्ठले पार्टीको ह्वीप विपरित सरकारको प्रस्तावका पक्षमा मतदान गरेका हुन् ।
प्रदेश सभामा रहेका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका १९ सांसदमध्ये १३ जना सांसदले मात्रै ह्वीपको पालना गर्दै प्रस्तावको पक्षमा मतदान गरेका थिए । कांग्रेसका अर्का सांसदसुरेन्द्र हमाल काठमाडौंमा रहेका कारण मतदानमा सहभागि भएनन् ।
ह्वीप नमान्ने सांसदहरुलाई पार्टीले कारवाही गर्ने नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कनौडियाले बताए । उनले कस्तो कारवाही गर्ने भन्नेबारेमा छलफल हुने बताए । ‘यसअघि पार्टिको आन्तरिक छलफलमा उनिहरुले आफूहरु समस्यामा परेको भन्दै आफ्नो मत राखेका थिए ।’संसदीय दलका नेता कनौडियाले भने–‘उनीहरुलाई कारवाही हुन्छ । कारवाहीको स्वरुपको बारेमा छलफल गर्नेछौं ।’ यद्यपी, पार्टीबाट निस्कासन भने नगरिने उनले स्पष्ट पारे ।

  • यस्तो छ राजधानीको भुगोल

दाङको राप्ती गाउँपालिकाको भालुवाङ बजार भौगोलिक दृष्टिकोणले बुटवलदेखि १०० किलोमिटर पश्चिम भागमा पर्छ । यसरी हेर्दा राजधानी १०० किलोमिटर पश्चिममा सरेको छ । प्यूठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला भने प्रदेशको स्थायी मुकामकै सीमामा पर्छन ।
दाङ जिल्लाको पूर्वीभागमा रहेको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ बजार तुलसीपुरबाट ८९ किलोमिटर पूर्व, घोराहीदेखि ६६ किलोमिटर पूर्वमा अवस्थित छ। गाउँपालिकाको केन्द्र भने भालुवाङबजार भन्दा ७ किलोमिटर पश्चिम मसुरियामा अवस्थित छ । त्यस्तै बाँकेसँग सीमाना जोडिएको अमेलिया बजारबाट ६० किलोमिटर पूर्व र लमही बजारवाट २५ किलोमिटर पूर्वी भागमा भालुवाङ बजार रहेको छ । भालुवाङ बजार नेपाल–भारत सीमा नाका कोइलावास ३४ किलोमिटर दक्षिणमा पर्छ । कोइलावास नाका गढवा गाउँपालका वडा नं. ८ मा पर्छ ।
अहिले कोइलावास सडक खण्ड कालोपत्रे भइसकेको छ । पूर्व–पश्चिम राजमार्ग निर्माण भएपछि २०२४÷०२५ सालदेखि कोइलावास नाका आझेलमा परेको हो। यही कोइलाबास नाकामार्फत दाङसहित रोल्पा, प्यूठान, अर्घाखाँची, सल्यान, रुकुम, जाजरकोटसम्मका सर्वसाधारणले विगतमा नुनदेखि सुनको व्यापार गर्ने गरेको पुराना पुस्ता बताउँछन् । दाङको देउखुरी राजधानी भएपछि कोइलाबास नाकाले पुनर्जीवन पाउने आशा गरिएको छ ।

 
 
  
 

You may also like