काठमाडौं । मंगलबार मध्यरात, झमझम पानी परिरहेको छ । पानीले भिजेको चिसो भुइँमा कागज, कार्टुन र रुमाललाई बिछ्यौना बनाएर निदाउने प्रयास गरिरहेका छन् । बेन्च र टेबलमा पनि निदाइरहेका छन्, निदाउने प्रयास गरिरहेका छन् ।
यिनीहरू रोजगारी माग्न जम्मा भएका होइनन्, उपचारका लागि पनि आएका होइनन् । कोभिड परीक्षण गरिपाऊँ– उनीहरूको यत्ति माग हो । तर, दिनभर लाइन लाग्दा पनि पालो नआएपछि उनीहरू रातिदेखि नै यसरी लाइन लाग्न बाध्य भएका हुन् । के गर्नु ? यो देशमा महामारीविरुद्ध सरकारको बन्दोबस्त यस्तै छ ।
यो दृष्य हो राजधानीको टेकुस्थित कोभिड– डेडिकेटेड शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको । अस्पतालको गेटबाहिरको अवस्था पनि यस्तै छ । सडक किनारमा उभिएका, बसेका सबैसँग छाता छैन । छाता हुनेहरू छातामा ओत लागेका छन् । छाता नहुनेहरू बाटोछेउका घरका सिँढीमा ओत लाग्ने प्रयास गरिरहेका छन् । उभिएर थाकेकाहरू भिजेको भुइँमै पल्टिएका छन् ।
महोत्तरी गौशालाका रामबाबु साह सोमबार साँझ काठमाडौं आइपुगे । सरासर लगनखेलस्थित आफ्नो कोठामा जान खोजेका साहलाई घरबेटीले गेटमै रोके । पिसिआर जाँच गरेको रिपोर्ट देखाएपछि मात्र घरभित्र छिराउने निर्देशन दिए ।
आँगनमै झोला छाडेर साह पिसिआर जाँच गराउन टेकु आइपुगे । उनी सोमबार साँझ अस्पताल आएका हुन् । मंगलबार रातिसम्म पालो पाएका छैनन् । बुधबार त परीक्षण होला कि भनेर उनी अस्पताल गेटबाहिर चिसो सिँढीमा ओत लाग्ने प्रयास गरिरहेका छन् । महात्तरीमा शाहको आठ जनाको परिवार छ, कमाउने उनी मात्रै हुन् । निर्माण मजदुरको काम गर्ने साह भन्छन्, ‘पेटका लागि जस्तो पनि सहनै पर्यो ।’
सोमबार बिहानैदेखि पिसिआर जाँचको पालो पर्खेर बसिरहेका वीरगन्जका अबुराहन आलमले त खाना पनि खाएका छैनन् । अस्पतालको आँगनमा कागज ओछ्याएर निदाउने प्रयास गरिरहेका आलमलाई घरबेटी मात्र होइन, टोलकै मानिसले घरभित्र छिर्न दिएनन् ।
‘घरबेटी र टोलका मान्छेले भित्र पस्न दिएनन् । परीक्षणका लागि यता आएको पनि दुई दिन भइसक्यो, खाना पनि खान पाएको छैन,’ आलमले सुनाए । गौशालामा सवारीसाधन मर्मतको काम गर्ने आलम गुह्येश्वरीमा बस्छन् । संक्रमण छैन भन्ने रिपोर्ट लग्न पाए रोजीरोटी मिल्थ्यो भन्ने उनको आशा छ । तर, यो भिडमा उनको नियति के हुने हो ? थाहा छैन ।
दुई दिनदेखि निद्रा र भोकले रन्थनिएका आलमका आँखा सुन्निएका छन् । उनी राम्रोसँग बोल्न समेत सकिरहेका छैनन् । दिनभरि लाइनमा उभिनुपर्ने, राति चिसो भुइँमा पल्टिनुपर्दा टाउको दुख्न थालेको सुनाउँछन् उनी ।
यो हो पूजादेवीको नौजनाको परिवार, उनीहरू अस्पतालभित्रै रहेको एटिएम बुथमा निदाउने प्रयास गरिरहेका छन् । मंगलबार बिहान मात्र वीरगन्जबाट काठमाडौं आएकी पूजादेवीलाई आफ्नोभन्दा बालबच्चाको चिन्ता लागेको छ । तीन जना बच्चा चिसोमै निदाएका छन्, तर पूजादेवी उनीहरूको रेखदेख गर्दै जागा छिन् ।
टेकुमै बस्ने पूजादेवीको परिवारले कवाडी संकलनको काम गथ्र्यो । लकडाउन सुरु भएसँगै वीरगन्ज गएका उनीहरू भाडा नतिरे घरबेटीले सामान हटाइदिने धम्की दिएपछि काठमाडौं आएका हुन् । पूजादेवी भन्छिन्, ‘दुई महिनाको भाडा तिरेको छैन । साहुजीले छिटो आएर भाडा तिर, नभए सामान फालिदिन्छु भन्यो ।’
कोठाको सामान जोगाउन आएका उनीहरूलाई फेरि साहुले भने, ‘पिसिआर रिपोर्ट लिएर आऊ । जाँच नगराई घरभित्र छिर्न दिन्नँ भनेपछि यहाँ आएको । पालो पाएन, जाने ठाउँ कतै नभएपछि यतै निदाएको ।’ तीनजना बच्चा, यात्राको थकान, घरबेटीको धम्की र चिसो भुइँको सुताइ । थकित, गलित देखिने पूजादेवी राम्रोसँग आँखासमेत खोल्न सकिरहेकी छैनन् ।
पिसिआर जाँच गराएपछि काम पाइन्छ । खान पाइन्छ भन्ने आसमा बसेका अनिल कापरलाई पिसिआर जाँच गराउन नपाएपछि भोकै परिन्छ कि भन्ने डरले सताएको छ । जाडोले लुगलुग कामिरहेका अनिल भन्छन्, ‘घरको आर्थिक अवस्था कमजोर भएपछि जे काम पाए पनि गर्छु भनेर आएको हुँ ।’
थापाथलीस्थित साथीहरूको कोठामा बस्न खोजेका कापरलाई घरबेटीले पिसिआर ल्याएपछि मात्र बस्न दिने सर्त राखे । महोत्तरी, बर्दिबासका कापर भन्छन्, ‘चेक गराएर आऊ, नभए बाहिरै सुत्नु भनेपछि जचाउन आएको । तर, यता पालो कहिले आउने हो थाहा छैन ।’ दुई दिनदेखि लाइन बसेकाले त पालो पाएका छैनन्, मंगलबार बिहानैदेखि लाइनमा बसेका कापरले कुर्न धेरै बाँकी छ ।
पानीले भिजेको बेन्चमा निदाउन नसकेर उँघ्दै बसिरहेका छन् स्याङ्जाका रामप्रसाद ढकाल । सोमबार काठमाडौं आइपुगेका उनको कोठा कलंकीमा छ । ठेलामा तरकारी व्यापार गर्ने ढकाल सोमबार १० बजेदेखि टेकु अस्पतालमा छन् ।
‘यो लाइनमा बस्दाबस्दै, भिडभाडमा उभिँदा उभिँदै, नभएको संक्रमण होला जस्तो भइसक्यो,’ ढकालले चिन्ता व्यक्त गरे । उनलाई पनि घरबेटीले पिसिआर जाँच गरेको रिपोर्ट ल्याए मात्र कोठामा छिर्न पाउने निर्देशन दिएका छन् । छाता ओडेर सडक किनारमा टुक्रुक्क बसेका छन् जितेन्द्र साह । निर्माण मजदुरको काम गर्ने साह मंगलबार बिहान ८ बजे नै काठमाडौं पुगेका हुन् । तर, पिसिआर रिपोर्ट नभएका कारण उनले कोठामा छिर्न पाएनन् ।
‘कोठामा साहुनीले पहिला जाँच गराएर आऊ त्यसको बादमा मात्र बस्न दिन्छु भन्यो,’ बाछिटाले आधाभन्दा बढी रुझिसकेका साहले सुनाए । घामपानी सहेर भए पनि ६ जनाको परिवार पाल्ने जिम्मेवारीले थिचिएका साह सुनाउँछन, ‘काम बन्द भएपछि घर गएको । तर, परिवारले नै दुःख पायो भनेर फर्किएँ । यहाँ मलाई मात्र दुःख हो, सहन्छु । रिपोर्ट ठीकै आयो भने काम पाउँला भन्ने लागेको छ ।’
नेपाली मात्र होइन, भारतीय नागरिक पनि पिसिआर जाँचका लागि अस्पताल परिसरमा बसेका छन् । बिहार, बेतियाका नाजिर अन्सारी आइतबार नै काठमाडौं पुगेका हुन् । तर, घरबेटीले छिर्न नदिएपछि उनले भारतमै पिसिआर जाँच गराएको रिपोर्ट देखाए । घरबेटीले नमानेपछि उनी आइतबार नै टेकु आएका हुन् ।
कुपन्डोलमा लुगा सिलाउने काम गर्ने अन्सारी भन्छन्, ‘उताबाट परीक्षण गराएर ल्याएको, यहाँ कसैले मानेनन् । त्यसैले यता लाइन लाग्न आएको ।’ अनुमान गर्न सकिन्छ, भारतबाट आएका नागरिकलाई यता यो दुःख छ, दशैँको वेला देश छाडेर भारत गएका नेपालीले पनि उता यस्तै दुःख पाएका होलान् ।
२२ भदौबाट अस्पतालले मध्याह्न साढे १ बजेसम्म मात्र ओपिडी टिकट वितरण गर्छ । त्यसपछि फिभर क्लिनिकमा स्वास्थ्य जाँचपछि पिसिआर जाँच निर्देशिकाअनुसार जाँच गराउनुपर्ने देखिएमा एक दिनमा तीन सय जनाको मात्र अस्पतालले पिसिआर जाँचका लागि स्वाब संकलन गर्छ । अस्पतालले के गरोस्, सरकारले दिएको जनशक्ति र पूर्वाधारको क्षमता यत्ति नै हो । महामारी अझै फैलिएमा जनताको के हालत हुने हो ? अनुमान गर्दा पनि कहालीलाग्ने अवस्था छ । नयाँ पत्रिका दैनिकबाट