बुटवलमा अव्यवस्थित बस्तीको दोस्रो चरणको नापजाँच सुरु

by समतल अनलाइन

– सार्वजनिक जग्गा संरक्षण गर्दै भूमि बैंक, श्रम बैंक, कृषि उत्पादकत्व बृद्धि, कृषि उपज केन्द्र र नमुना ट्रान्सपोर्ट भिलेज बन्दै
बुटवल  । बुटवल उपमहानगरपालिकाले अब्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहिनहरूको समस्यालाई दीर्घकालिन रूपमै समधानको पहल सुरु गरेको । संघीय सरकारले भूमिसंग सम्बन्धित समस्या समाधान आयोग गठन गर्नुअघि नै बुटवलले भूमिसम्बन्धी समस्याको दीर्घकालिन पहल सुरु गरेको थियो ।बुटवल उपमहानगरले अव्यवस्थित बसोबास तथा सुकुम्बासी जग्गाको लगत संकलन गर्दै सबैभन्दा धेरै अव्यवस्थित जग्गा रहेको क्षेत्रबाटै वैज्ञानिक नापजाँचको काम सुरु गरेको थियो ।वडा नं. ११ मा अहिले दोस्रो चरणको जग्गा नापजाँचको काम सुरु गरिएको र सबै वडामा क्रमश नापजाँच गरिने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । आइतबारदेखि थप एक सय विगाहा जग्गामा नापजाँच गर्ने काम शुरू भएको छ । पहिलो चरणमा वडा नं ११ कै करिब ८० विगाहा जग्गामा नापजाँचका काम भइसकेका छन् ।

 

बुटवलका करिब १६ हजार घरधुरीहरको लगत संकलन गरिसकिएको छ । कुन वडामा कति अव्यवस्थित बस्ती छन् भन्ने कुराको लगत संकलन संगै अहिले दोस्रो चरणमा नापजाँचको काम अगाडि बढेपछि स्थानीय खुशी भएका छन् । बुटवलका वडा नं. ११ बाट सुरु भएको जग्गा नापजाँच तथा अभिलेखिकरणको काम अब १९ वटै वडाहरूमा क्रमश हुने प्रमुख सुवेदीले बताउनुभयो ।

संघीय सरकारले भूमिसम्बन्धी ऐनको आठौं संशोधन गर्दै शक्तिशासी आयोग गठन गरेको छ भने प्रदेश सरकारले भू–उपयोगितासम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पु¥याएको छ । यहीँ बीचमा बुटवल उपमहानगरभरिका अव्यवस्थित बसोबास र सार्वजनिक जग्गाको नापजाँच एवम् अभिलेखिकरणका काम अगाडि बढाएपछि समस्या समाधानको काम प्रभावकारी हुने निश्चित भएको छ ।

बुटवल उपमहानगरपालिकाले कार्यपालिका बैठकबाटै कार्यविधि बनाएर कानुन सम्मत रुपमा लगत संकलन र नापजाँचका काम सुरु गरेको थियो । तथ्यांक संकलनलाई विवादरहित र न्यायपूर्ण बनाइएको दाबी गर्दै प्रमुख सुवेदीले थप प्रभावकारी कामका लागि सामाजिक संघ–संस्था, नागरिक समाज तथा टोलविकास संस्थाका साथै प्रत्येक वडाका प्राविधिक र जनप्रतिनिधिहरूलाई समन्वयमा खटाइएको बताउनुभयो ।
बुटवल उपमहानगरले सार्वजनिक जग्गाको संरक्षणका काम पनि संगसंगै अगाडि बढाएको प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उहाँले १९ वटै वडामा रहेका सार्वजनिक जग्गाको लगत संकलन गरिएको र कतिपय ठाउँमा तत्कालै संरक्षण गर्नुपर्ने भएकाले संरक्षणको काम भइरहेको बताउनुभयो । वडा नं. १२ को भैरवा टोलमा यस्तै जग्गा संरक्षण गर्दै त्यहाँ नमुना ट्रान्सपोर्ट भिलेज बनाउने काम भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो । यसका साथै बुटवलमा अन्तर्राष्ट्रिय स्तरको कृषि उपज केन्द्रसमेत बन्दैछ ।

वातावरण विषयमा विशेष दख्खल समेत राखेका र सोही विषयमा अध्यय्न समेत गरेका उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले वातावरणमैत्री र पर्यावरणमैत्री सहरी विकास योजना बनाएको बताउनुभयो । उहाँले सार्वजनिक जग्गा संरक्षण गर्दै भूमि बैंक, श्रम बैंकको स्थापना, कृषि उत्पादकत्व बृद्धिका लागि अध्यय्न कार्यदलसमेत बनाएर काम भइरहेको बताउनुभयो ।

उपमहानगरपालिकाले सार्वजनिक सूचनामार्फत जग्गाको वैज्ञानिक नापजाँचका लागि प्राविधिक साझेदारका रुपमा क्रिएसन एजुकेसनल एण्ड कन्स्ट्रक्सन प्रालि छनौट भएको थियो । सोही संस्थाले अहिले दोस्रो चरणको नापजाँचको काम भरिरहेको वडा नंं.११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बताउनुभयो । नम्बरी जग्गाको सीमालाई आधार मानेर नापजाँच तथा अभिलेखीकरण गरिएको र सर्वसम्मत रुपमा वैज्ञानिक तरिकाले काम अगाडि बढेको अध्यक्ष क्षेत्रीको भनाइ छ ।

नापीका क्रममा रंगशाला–मार्गमा ढल, खानेपानी र सडकका लागि ५१ फिटको बाटो छोडिएको छ भने त्यसभन्दा तलका मार्गहरूमा हाल रहेका बाटोको चौडाइअनुसार नै रहनेगरी तथ्यांक संकलन भइसकेको छ । तिनाउ–दानव नदी कोरिडोरको डीपीआर समेत बनिरहेकाले यसैका आधारमा ती क्षेत्रमा नापजाँच भइरहेको उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like