निषेधाज्ञा खुकुलो : व्यापार-व्यवसाय क्षेत्र शर्तसहित खुल्ने, यातयातमा जोरबिजोर

by समतल अनलाइन

काठमाडौँ।काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साताका लागि खुकुलो बनाइएको छ ।बिहीबारदेखि लागू हुने गरी एक साताका लागि उपत्यकामा निषेधाज्ञा केही सहज गराइएको हो ।उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागू गर्ने निर्णय गरेका छन् ।

यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र पसल तथा व्यवसाय पनि निश्चित समय सञ्चालन गर्न दिने निर्णय भएको छ । तर, काठमाडौँ उपत्यका प्रवेशमा भने अझ कडाइ गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

‘हामीले प्रतिबन्ध केही खुकुलो बनाउने निर्णय गरेका छौँ, विस्तृत विवरण केहीबेरमा प्रकाशित हुन्छ,’ उनले भने ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि गत भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा लम्बिदै गएपछि अवज्ञा गर्ने क्रम बढेको थियो । यही बीचमा व्यवसायीहरूले निषेधाज्ञा हटाउन माग गर्दै आएका थिए ।

 
 
  
 

You may also like