लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

by समतल अनलाइन

कोरोना नियन्त्रणमा निषेधाज्ञाले काम गरे–नगरेको यकिन हुन अझै एक हप्ता लाग्ने
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने प्रक्रिया परिवर्तन गरेको छ । मन्त्रालयले लक्षण नभएका संक्रमितलाई अब भर्ना नगर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ ।

लक्षण नभएका संक्रमितले अस्पतालका शैंया भरिन थालेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षण नभएका अस्पतालमा र लक्षण भएका संक्रमित घरमा बस्नुपरेपछि अस्पताल भर्ना प्रक्रियामा परिवर्तन गर्नुपरेको बताए । अब सामान्य अवस्थाका संक्रमितलाई भर्ना नलिन चिकित्सक तथा अस्पताल प्रमुखलाई निर्देशन दिइएको उनले बताए ।

काठमाडौंलगायत तराईका जिल्लामा संक्रमित बढ्दै जाँदा अस्पताल शैंया अभाव हुन थालेको छ । यो समस्याको समाधान गर्न मन्त्रालयले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने भएको हो ।

पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेका छन् । कुल संक्रमितमध्ये ६ प्रतिशतमा लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर, उपत्यकामा भने २० प्रतिशत संक्रमितमा लक्षण देखिएको छ ।

सोमबार काठमाडौंमा एक सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा दुई सय २४ नयाँ संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या तीन हजार चार सय ८६ पुगेको छ । काठमाडौंमा दुई हजार सात सय ५६, भक्तपुरमा दुई सय ८६ र ललितपुरमा चार सय ४४ संक्रमित पुगेका छन् । उपत्यकामा पुष्टि भएका संक्रमितमध्ये ६ सय ९७ जनामा लक्षण देखिएको छ ।

कोरोना नियन्त्रणमा निषेधाज्ञाले काम गरे–नगरेको यकिन हुन अझै एक हप्ता लाग्ने

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको निषेधाज्ञाको प्रभाव अझै एक हप्तापछि मात्रै देखापर्ने चिकित्सकले बताएका छन् । दुईदेखि १४ दिनको संक्रमण अवधि भएकाले ६ दिनलाई हेरेर निषेधाज्ञाले काम गरे–नगरेको यकिन गर्न नसकिने उनीहरूको भनाइ छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दरलाई थप फैलन नदिन निषेधाज्ञा जारी गरेको मंगलबार ६ दिन भएको छ । निषेधाज्ञा जारी भएको अघिल्लो दिनसम्म मानिसहरू सडक, बजारमा हिँडिरहेका थिए । त्यसपछि सबै घरमा बसेका छन् । निषेधाज्ञा जारी भएको ठीक एक दिनअघि ३ भदौलाई आधार बनाएर हेर्दा त्यसवेला संक्रमण भएमा १४ दिनसम्म देखिरहन सक्छ । त्यसैले अझै एक हप्ता कुर्नुपर्ने विज्ञहरूको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार दुईदेखि १४ दिनभित्र यसको संक्रमण देखिने भनिए तापनि धेरैलाई पाँच दिनभित्र नै लक्षण देखिएको छ । ‘त्यसपछि बिस्तारै दैनिक संक्रमण कम हुँदै जान्छ,’ डा. पुन भन्छन्, ‘तर, कुनै व्यक्ति घर, परिवार, आफन्त र राज्यलाई नै झुक्याएर बाहिर हिँडडुल गरेको भए त्यो सोही दिनबाट १४ दिन गन्न सुरु हुन्छ । यस्तो अवस्थामा भने निषेधाज्ञा जारी गरेर पनि संक्रमण घट्दैन ।’

कस्तो छ अहिलेको अवस्था ?

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा कुन अवस्थामा पुगेको छ भन्ने पत्ता लगाउन कोसिस भइरहेको छ । अहिले समुदायमा कोरोना कुन अवस्था छ, भन्ने बलियो आधार निर्माण नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. विवेक लाल बताउँछन् ।

अब देशको अवस्था के हुन्छ भन्नलाई अहिलेको अवस्था कस्तो छ भन्ने कुरा प्रमुख हुने उनले बताए । त्यसका लागि विभिन्न क्षेत्र तोकेर सेरोलोजिकल (एन्टिबडी) परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।

सरुवारोग विशेषज्ञ डा. पुन पनि सुरुमा कोरोना संक्रमणबारे समुदायको तस्बिर बाहिर आउनुपर्ने बताउँछन् । ‘समुदायको अवस्था बाहिर आएको स्थितिमा आगामी दिनमा कोरोनाबारे नयाँ योजना बनाएर काम गर्न मद्दत मिल्छ,’ डा. पुन भन्छन् ।

उनी निषेधाज्ञा कहिलेसम्म रहन्छ, केस कति पुग्लान् भन्ने भन्दा पनि नेपाल कुन अवस्थामा छ भन्ने खाका स्पष्ट रूपमा ल्याउनुपर्ने बताउँछन् । ‘अहिले हामी कहाँ आइपुग्यौँ भनेर क्लियर भएको छैन,’ डा. पुन भन्छन्, ‘सेरोलोजिकल (एन्टिबडी) परीक्षण गरेको खण्डमा कोरोनाको स्पष्ट खाका आउनेछ । स्पष्ट तस्बिर ल्याउन सकेमा कुन क्षेत्रलाई बढी महत्व दिने भन्ने स्पष्ट हुने थियो ।’

चिकित्सकहरूले ‘सेरोलोजी सर्भिलेन्स’ गरेर कोरोनाको स्पष्ट खाका बाहिर ल्याए त्यसको नियन्त्रणमा सहज हुने बताएका छन् । ‘सेरोलोजी सर्भिलेन्स वैज्ञानिक आधारबाट हुन्छ । यो सर्भिलेन्सबाट आगामी दिनमा कोभिड–१९ को नियन्त्रणमा राम्रो आधार तय हुनेछ,’ डा. लाल भन्छन् ।

सेरोलोजी सर्भिलेन्स गरेर हेरेपछि कुन ठाउँमा राज्यले बढी मिहिनेत गर्नुपर्ने हो स्पष्ट हुने उनको भनाइ छ । यो भनेको क्षेत्र छुट्याएर त्यहाँ रहेको केही व्यक्तिको रगत संकलन गरेर कोरोना एन्टिबडी भए–नभएको परीक्षण गर्ने हो ।

कोरोनाले सातको मृत्यु, आठ सय ५५ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर सातजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंमा तीन, सिराहा, पर्सा, धनुषा र रुपन्देहीका एक–एकजना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ६४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा आठ सय ५५ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको छ । त्यसमध्ये १४ हजार दुई सय ५० जना सक्रिय संक्रमित छन् ।

उनीहरूमध्ये पाँच हजार ६ सय ६९ जना घरमा र आठ हजार पाँच सय ८१ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन् । काठमाडौं उपत्यकामा दुई सय ३२ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा एक सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित देखिएका छन् । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like