बुटवल।बुटबल उपमहानगरपालिका–११, नहरपुरकी २८ वर्षीया एक गर्भवतीलाई शल्यक्रियाबाट सुत्केरी गराइएको छ । उनले बाँकेको कोहलपुर मेडिकल कलेजमा शिशु जन्माएकी हुन् ।बुटवलकी बासिन्दा ती गर्भवतीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएन । उनलाई परिवारजनले कोहलपुर पुर्याए ।
कोहलपुर मेडिकल कलेजका स्त्री रोग विशेषज्ञसहितको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । ती महिलालाई संक्रमित सुत्केरी बेथा लागेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो । शनिबार बिहान साढे ९ बजे शल्यक्रियाबाट छोरी जन्माइएको हो ।शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्य अवस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिले आमा र बच्चाको स्वास्थ्य ठिक छ । भोलि कोरोना परीक्षण गर्छौं त्यसपछि मात्रै बच्चामा संक्रमण भए नभएको थाहा हुन्छ ।’
आइतबार प्रादेशिक अस्पताल बुटवल पुगेकी ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । चिकित्सकले काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए ।
पहिलो सन्तान शल्यक्रिया जन्माएका दोस्रो पनि शल्यक्रिया नै गर्नुपर्ने ठहरसहित प्रदेशिक अस्पतालले छिटो विधिबाट पिसिआर परीक्षण गरेको थियो । उनका पति पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमा छन् ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ संक्रमित गर्भवतीको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको जनाए पनि अहिलेसम्म त्यहाँ कसैको शल्यक्रिया नभएको अस्पतालले स्पष्ट पारेको छ । कोहलपुर मेडिकल कलेजमा उनीसँगै चार जना कोरोना संक्रमितको शल्यक्रिया भएको जनाइएको छ ।