काठमाडौं। शनिबार मात्रै ४७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सरकारले विदेशबाट बिदामा घर आएका, करार अवधि र भिसा रहेका नेपालीलाई कोरोना परीक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकल पालना गरी विदेश जान दिने निर्णय गरेसँगै शनिबार मात्रै ४७ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयले जनाएको छ ।
कार्यालयले विभिन्न देशका लागि ३० जना पुरुष र १७ जना महिलालाई पुनः श्रम स्वीकृति दिएको हो । ब्रुनाई, ओमान, कतार र दक्षिण कोरियाका लागि एक–एक, पोल्यान्डका लागि दुई, जापानका लागि पाँच, इजरायलका लागि आठ, संयुक्त अरब इमिरेट्सका लागि ११ र माल्टाका लागि १७ जनालाई पुनः श्रम स्वीकृति प्रदान गरेको कार्यालयले जनाएको छ ।
असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी बिदामा आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो । यस्तै यसअघिको करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञाको म्याद समेत थप भएका व्यक्तिलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
कोरोना महामारीबाट नेपालका प्रमुख श्रम गन्तव्य देश प्रभावित भएपछि गएको फागुन २९ गते बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वैदेशिक रोजगारीका लाग दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले वैदेशिक रोजगारीमा जान दिने बाटो खोलेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई पत्र लेख्दै तोकिएको मापदण्ड पूरा गरी श्रम स्वीकृति प्रदान गर्न निर्देशन दिएको थियो । हवाई टिकट लिएर श्रम स्वीकृति लिन बाँकी रहेकालाई प्राथमिकताका आधारमा स्वीकृति प्रदान गरिएको कार्यालयले जनाएको छ ।