गुल्मीमा पहिरो जादा दुई जनाको ज्यान गयो, एक जना बेपत्ता

गुल्मी ।गुल्मीमा बाढी र पहिरोका कारण दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् ।

इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काले जानकारी दिनुभयो ।

बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी थिइन् ।पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालिका २ का भागिरथ घिमिरे सम्पर्कबिहीन हुनुभएको स्थानीय रामबहादुर केसीले बताउनुभयो ।

पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते हुनुभएको छ ।घटनास्थलमा सुरक्षाकर्मीको टोली खटिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभएको छ ।

पानी परिरहेकाले अहिले पनि पहिरो खसिरहेको छ । पहिरोले सडक अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् । गएराति झण्डै १२ बजेतिर बस्तीभन्दा पाँच सय मिटर माथिबाट पहिरो खसेको हो ।

पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका स्थानीयले बताएका छन् ।घटनाको जानकारी पाएपछि शुक्रबार बिहानै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो । उज्यालो बाट

 
 
  
 

You may also like