काठमाडौं। विश्वभर कोरोना कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्लो आँकडा अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९७४ पुगेको वर्ल्डओमिटरले जनाएको छ ।हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख ७४ हजार ५७ जनाको ज्यान गइसकेको छ । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् भने त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ ।
ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार पार भएको छ । रुसमा पाँच लाख ९१ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् । यद्यपि, यहाँ यो महामारीका कारण धेरैको मृत्यु भएको छैन । यहाँ आठ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।
संक्रमित व्यक्तिको संख्याको हिसाबले भारत चौथो स्थानमा छ । भारतमा चार लाख २५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् जबकि यहाँ हालसम्म १३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।
बेलायतमा तीन लाख ६ हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । यो महामारीले बेलायतमा हालसम्म ४२ हजार ७ सय ३२ व्यक्तिको मृत्यु भएको छ । सोमाबार विश्वभर एक लाख ३७ हजार दुई सय आठ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार ८५८ जनाको ज्यान गएको छ । एजेन्सी