आज सूर्यग्रहण : ८८ प्रतिशत सूर्य ढाकिने

काठमाडौं। आज (आइतबार) सूर्य ग्रहण देखिंदैछ । यो ग्रहण सूर्य केवल बालाको आकारमा मात्रै देखिने सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने ज्योतिषीहरुले जानकारी दिएका छन् ।

अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण देखिनेछ । कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट यो वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ ।

नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ । काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने बताइएको छ ।

पञ्चाङ्ग निर्णायक समितका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट बिहान १० बजेर ५० बाट शुरु भई अपरान्ह २ बजेर २३ मा समाप्त हुँदैछ । बिहानको १२ बजेर ३८ मा करिब ८८ प्रतिशत ढाकिएको हुनेछ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव सबैले महसुस गर्नेछन् ।

धार्मिक मान्यताअनुसार यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरु भने सूर्यग्रहण जो–कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्छन् ।

यद्यपी, सूर्यग्रहण खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र अवलोकन गर्न सकिन्छ ।

FacebookTwitterPinterestLinkedInMessengerWhatsAppWeChatViberMore

 
 
  
 

You may also like