एउटै चितामा जले दम्पती

पर्वत । चन्द्र शमशेरले १९७७ सालमा सती प्रथामा बन्देज लगाएपछि त्यस्ता घटना विरलै सुनिन्थे । तर, सोमबार पर्वतको मोदीवेणी घाटमा भएको घटनाले सती प्रथाकै झल्को दिइरहेको थियो । श्रीमान– श्रीमती एउटै चितामा जलिरहेका थिए ।

पहिरोले पुरिँदा ज्यान गुमाएका तुलबहादुर थापा र उनकी श्रीमती मीनकुमारीलाई एउटै चितामा राखेर दाहसंस्कार गरिएको हो । कुश्मा नगरपालिका–३ दुर्लुङको काउलेमा शनिबार राति पहिरोमा पुरिएर दुई परिवारका ८ जनाको मृत्यु भएको थियो ।

सँगै मर्ने र सँगै बाँच्ने वाचाकसम खाएर झन्डै चार दशकअघि विवाह गरेका थापा दम्पती अन्ततः एउटै चितामा जलेर खरानी बने । उनीहरूलाई १ छोरी, १ नातिनी र २ नातिहरूसँगै विनाशकारी पहिरोले लगेको थियो ।

थापा दम्पतीको चितासँगै थिए, नातिनी विदिशा र नाति सम्राटका चिता पनि । यस्तो वीभत्स दृष्य देखेर मलामी गएकाहरू भावविह्वल देखिन्थे । कसैका आँखा ओभाना थिएनन् । घाटमा चिता बनाउनेका हात काँपिरहेका थिए । आफन्त र गाउँलेहरू ठूला ढुंगाको लुकेर रुँदै गरेका देखिन्थे ।

कोही डाँको छोडेर रुँदै थिए त कोही गहभरि आँशु पार्दै । ६ जनाको अन्त्येष्टिका लागि लहरै बनाइएका चिता देख्दा मन थाम्न सक्ने अवस्था नरहेको स्थानीय याम शर्माले बताए । कलिला बालबालिकालाई चितामा राख्दा कसैले मन थाम्न नसकेको उनको भनाई छ ।

त्यहाँ रहेकाहरू ‘शत्रु लागोस तर दैव नलागोस’ भन्दै भावविह्ल बनिरहेका थिए । बाबु आमा र छोराछोरीलाई एकैपटक दागबत्ती दिनुपर्दा तुलबहादुरका छोरा अम्मरबहादुर होशमा थिएनन् ।

मलामी गएका स्थानीय सूर्यबाबु गिरीले तुलबहादुर र मीनकुमारीको मृत्यु एकै दिन एकै ठाउँमा भएकाले आफन्तको सल्लाहमा एउटै चितामा जलाइएको बताए । छोरा अम्मरबहादुरले एउटै चितामा जलाउँदा ‘बाबुआमाको सपना पूरा हुने’ बताएका थिए ।

विनाशकारी पहिरोमा ज्यान गुमाएकामध्ये थापा परिवारका चार र कमला विक र उनकी छोरी प्रमिशालाई मोदीवेणी घाटमा सामूहिक दाहसंस्कार गरियोे । कमला र प्रमिशालाई जेठाजु चक्रबहादुर विकले दागबत्ती दिए । कमलाका श्रीमान् विकास विक साउदी अरबमा छन्। तुलबहादुरकी छोरी दिर्पा र छोरीतर्फका नाति विवेकलाई उनीहरूको घर बागलुङको थन्थापतर्फ पठाएर जैमिनी घाटमा दाहसंस्कार गरियो ।

पहिरोमा पुरिएका नौ जनामध्ये कमलाका १२ वर्षिय छोरा जेनिस अझै फेला पर्न सकेका छैनन् । शनिबार रातिदेखि निरन्तर सुरक्षाकर्मी, स्थानीय र मंगलबार दिउँसो तालिमप्राप्त कुकुरमार्फत खोजी गरिए पनि अझै पत्ता नलागेको हो ।

दुई परिवारका ६ जनालाई एकै ठाउँमा जलाएको घटना जिल्लामै पहिलो भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए । यस्तो हृदयविदारक घटनाले सिंगो गाउँवासीलाई रुवाएको उनको भनाइ छ ।

थापा परिवार काउले गाउँमा बस्न थालेको डेढ दशक मात्रै भएको थियो। दुर्लुङ ढकालबारीमा जन्मिएका तुलबहादुरले जन्मथलोमा सधै पहिरोको जोखिम भएपछि सुरक्षा खोज्दै गाउँको समथर जमिन भएको काउलेमा वासस्थान बनाएका थिए ।

पल्लो ढकालबारीमा रहेको घर भएको जमिन सधै कोल्टे पर्ने र ढल्कने समस्या थियो । पहिरोको उच्च जोखिम भएकाले तुलबहादुरले परिवारलाई सुरक्षित बनाउन काउले गाउँमा २०६२ सालमा घर बनाएका हुन् । ‘पहिरोको डरले परिवारलाई जोगाउन जन्मथलो छाडे । बाउबाजेको थातथलो छाडेर किनेको जमिनले पनि उनको परिवारलाई बचाउन सकेन’, स्थानीय प्रभु गुरुङले भने, ‘दैवको खल यस्तै रहेछ ।’

सोही पहिरोमा बेपत्ता बालकको खोजीका लागि तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ । १२ वर्षीय जेनिश बिकको खोजीका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर खोजी थालिएको हो । जिल्ला प्रहरी पर्वतका प्रमुख बिश्वराज अधिकारीले तीन दिनसम्म खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न नसकेपछि तालिमप्राप्त कुकुर प्रयोग गरिएको बताए ।

उक्त पहिरोले पुरिँदा ५३ वर्षीय तुलबहादुर, उनकी ५२ वर्षीया पत्नी मीनकुमारी, छोरी ३४ वर्षीया दिर्पा, नातिहरू १५ वर्षीय विवेक र १४ वर्षीय सम्राट तथा नातिनी ११ वर्षीया विदिशाको मृत्यु भएको थियो । तुलबहादुरकै छिमेकी कमला विक र उनकी आठ वर्षीया छोरी प्रमिशाले पनि ज्यान गुमाएका थिए । कमलाका छोरा जेनिश बेपत्ता छन । अन्नपूर्ण पोष्ट दैनिकबाट

 

 
 
  
 

You may also like