भक्तपुरमा आफ्नै दाजुबाट १४ वर्षीया बहिनी बलात्कृत

भक्तपुर। भक्तपुरमा आफ्नै दाजुबाट १४ वर्षीया बहिनी बलात्कृत भएकी छिन् । आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय दाजुलाई नियन्त्रणमा लिएको छ ।

वैशाख १३ गते बिहान सुतिरहेकी १४ वर्षीया बहिनीमाथि उनकै दाजुले बलात्कार गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दाजुबहिनी जिल्लाको मध्यपुर थिमी नपा– ९ बोडेस्थित कृषि तालिम केन्द्र नजिकै आफन्तको जस्ताको टहरोमा बस्दै आएका थिए । साथै दाजु–बहिनी एउटै कोठामा सुत्दै आएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुपाल्चोक घर भएका २३ वर्षीय दाजुले वैशाख १३ गते बिहानै आफ्नै सहोदर १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।

उनका अनुसार दाजुले जबरजस्ती गर्न खोजेपछि बहिनीले प्रतिवाद गरेपछि टहरामा रहेका आफन्तले थाहा पाएका थिए । तत्काल आफन्त जाँदा दाजुले बहिनीलाई जबरजस्ती करणी गर्दै गरेको अवस्था भेटाएर प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताएका छन् ।

दाजुलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको उनी बताउँछन् । उनलाई जिल्ला अदालतमा पेस गरी अनुसन्धानको लागि सात दिनको म्याद थप गरिएको प्रहरीले बताएको छ । पीडित बहिनीको मेडिकल जाँचपछि आफन्तलाई बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताएका छन् ।

दाजुमाथि जबरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि सरकारले लकडाउन घोषणा गरेको करिब एक महिनापछि जिल्लामा यो नै पहिलो आपराधिक घटना घटेको हो ।

 
 
  
 

You may also like