तीन दिन देशभर चट्याङ र हावाहुरीसहित वर्षा, सचेत हुन आग्रह

काठमाडौं। केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भू–भाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशभर बदलीसँगै वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताए । उनका अनुसार यी प्रणालीहरुको सम्मिश्रण हुनुका साथै प्रि–मनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ ।

प्रि–मसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्दछ । अहिले प्रि–मनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।

प्रि–मनसुनको समयमा पनि पर्याप्त वर्षा भइरहेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको बताइएको छ । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । गत वर्ष आजकै दिन काठमाडौैंको अधिकतम तापक्रम २८ डिग्री थियो । हाल देशको केही स्थानमा सामान्य बदली भई वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातको समयमा दशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । भोलि देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले मङ्गलबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औंल्याएको छ । हावाहुरी र चट्याङसहित पानी पर्ने भएकाले सर्वसाधरणलाई सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

 
 
  
 

You may also like